Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

१० औं  डी सिने अवार्ड सम्पन्न 

Friday, May 25, 2018 National Power

११ जेठ, काठमाडौं – डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा ३ र गैर प्रतिस्पर्धामा २ गरी सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ।

नवल नेपाल निर्देशित फिल्मका लागि विधागततर्फ विन्दु परियार ‘उत्कृष्ट गायिका’, मिथिला शर्मा ‘उत्कृष्ट चरित्र अभिनेत्री’, मित्रदेव गुरुङ ‘उत्कृष्ट सम्पादक’मा अब्बल रहँदा यही फिल्मले गैर विधाका लागि नायक पुष्पल खड्काले ‘क्रिटिक्स अवार्ड’ र निर्देशक नवल नेपालले ‘जुरी अवार्ड’ पोल्टामा पारे।

अवार्डमा फिल्म ‘कृ’ र ‘लिली बिली’ले चार–चार विधाको अवार्ड जिते। सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ अवार्डमा ‘उत्कृष्ट फिल्म’ बन्दा फिल्मका लागि अभिनेता अनमोल केसी ‘उत्कृष्ट अभिनेता’, छाँयाकार पुरुषोत्तम प्रधान ‘उत्कृष्ट छाँयाकार’ र ग्लेज इन्टरटेनमेन्ट ‘उत्कृष्ट एनिमेसन’ विधामा उत्कृष्ट ठहरिए।

त्यस्तै मिलन चाम्स निर्देशित फिल्मका लागि निर्देशक मिलन चाम्स ‘उत्कृष्ट निर्देशक’, एलिश कार्की ‘उत्कृष्ट पाश्र्वसंगीत’, प्रदिप भारद्वाज ‘उत्कृष्ट पटकथा’ र जसिता गुरुङ ‘उत्कृष्ट नव–नायिका’ घोषित भइन्। अवार्डमा फिल्म ‘पञ्चायत’की नायिका नीता ढुंगाना ‘उत्कृष्ट नायिका’ दरिइन्।

त्यस्तै पुर्णेन्दु झा निर्देशित फिल्म ‘संरक्षण’का लागि सुनयमान श्रेष्ठ ‘उत्कृष्ट ध्वनि मिश्रण’, धिरेन्द्र प्रेमर्षि ‘उत्कृष्ट गीतकार’ र निर्देशक झा ‘इन्करेज अवार्ड’को विजेता बने। फिल्म ‘ए मेरो हजुर २’का लागि निर्देशक झरना थापा ‘उत्कृष्ट नवनिर्देशक’, सलिनमान बनियाँ ‘उत्कृष्ट नवनायक’ र सलोन बस्नेत ‘उत्कृष्ट सह अभिनेता’ बने।

फिल्म ‘ऐश्वर्य’का लागि सुगम पोखरेल ‘उत्कृष्ट गायक’, प्रशान्त ताम्राकार ‘उत्कृष्ट खलपात्र’, फिल्म ‘दुई रुपैंयाँका लागि राजनराज शिवाकोटी ‘उत्कृष्ट संगीतकार’, कविराज गहतराज ‘उत्कृष्ट नृत्य निर्देशक’, दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा २’ अवार्डमा ‘उत्कृष्ट पपुलर चलचित्र’ बन्दा फिल्मकी कलाकार वर्षा राउत ‘उत्कृष्ट सह अभिनेत्री’, केदार घिमिरे ‘उत्कृष्ट हास्यकलाकार’ बने।

त्यस्तै, फिल्म ‘घामपानी’का लागि दीपेन्द्र लामा ‘उत्कृष्ट संवाद’, पुष्कर गुरुङ ‘उत्कृष्ट चरित्र अभिनेता’, फिल्म ‘रुद्र’का लागि हिमाल केसी ‘उत्कृष्ट द्वन्द्व निर्देशक’, फिल्म ‘पिँजडा ब्याक अगेन’का लागि कुसाग्र भट्टराई ‘उत्कृष्ट बालकलाकार’, फिल्म ‘भूँइमान्छे’का लागि नवराज बुढाथोकी ‘उत्कृष्ट कथा’ घोषित भए। अवार्डमा फिल्म ‘ब्लाइण्ड रक्स’ले ‘क्रिटिक्स अवार्ड’ पाउँदा फिल्म ‘सत्रु गते’ले ‘पब्लिक च्वाइस अवार्ड’मा चित्त बुझायो।

कार्यक्रममा फिल्म ‘आमा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री बसुन्धरा भुषाललाई ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो। त्यस्तै वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र कलाकार तथा निर्मात्री मौसमी मल्ललाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ दिइयो। लामा समयदेखि टेलिभिजन र रेडियोमार्फत चलचित्र पत्रकारितामा सक्रिय पत्रकार श्याम अर्याललाई वर्षको ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। उनले पुरस्कारसहित दश हजार दश रुपैयाँ प्राप्त गरे।

पुरस्कृत र सम्मानितलाई छायााछवि क्रिएसनका अध्यक्ष शान्तिप्रिय, अभिनेता तथा निर्देशक भुवन केसी, पहिलो रंगीन फिल्म ‘कुमारी’की नायिका चैत्यदेवी सिंह र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संगीतकार शम्भुजित बास्कोटाले दोसल्ला, माला र ताम्रपत्रबाट सम्मानित तथा पुरस्कृत गरेका थिए। कार्यक्रममा कलाकारहरुले नृत्य र गायनबाट मनोरञ्जन दिएका थिए।

क्रियशनका अध्यक्ष शान्तिप्रियले डिजिटल माध्यमबाट राम्रो भन्दा राम्रो फिल्म बनाउनेलाई प्रोत्साहन गर्न अवार्ड गरिएको बताए। कार्यक्रममा कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए।