१६ बैशाख,काठमाण्डौ – गर्मी सिजन सुरु भइसकेको छ । मध्य तराईमा गर्मीको राप प्रतिदिन बढ्दो छ । गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो अवस्थामा सामान्य दिनचर्या प्रभावित हुनु स्वभाविक हो ।तराईमा अत्याधिक गर्मीको कारण शारीरिक समस्या पनि देखापर्छ । घामको राप र तातो हावाले शरीरको उर्जा सोस्छ । शरीरमा पानीको मात्रा कम हुन्छ । गर्मीमा यस्तो समस्यासँगै लूको भय रहन्छ ।
लूबाट बच्ने उपाय
लूबाट बच्नका लागि संभव भएसम्म मध्यन्हको चर्को घाममा घरबाहिर निस्कनुहुँदैन । निस्कनै परेपनि पर्याप्त पानी पिएर, कपडाले शरीर ढाकेर निस्कनुपर्छ । घरबाहिर निस्कदा पानीको बोत्तलपनि साथमै राख्नुपर्छ । गर्मीमा घरबाहिर निस्कनुअघि यसकारण पानी पिउनुपर्छ कि, डिहाइड्रेशनको समस्या नहोस् । सादा पानी भन्दा अझ कांक्रा, खरबुजा जस्ता पर्याप्त पानी भएको फलफूल खानु राम्रो हो । यसले शरीरमा पानीको आपूर्ति भइरहन्छ । र, उर्जा पनि कायम रहन्छ । त्यसबाहेक गर्मीको समस्या एवं लूबाट बच्नका लागि निम्न प्रकारका खानेकुरा उपयोगी हुनसक्छ ।
धनिया
शरीरमा अपुग पानीको आपूर्ति पुरा गर्ने खानेकुरामा धनिया पनि एक हो । यसलाई केही समय पानीमा भिजाएर राख्नुपर्छ । त्यसपछि राम्ररी पिसेर पानी छान्नुपर्छ । यसलाई तपाईले स्वादका लागि मिश्रीसँग मिसाएर पनि सेवन गर्न सक्नुहुन्छ ।
इमलीको बीज
इमलीको बीजलाई निकालेर राख्ने । त्यसलाई राम्ररी पिस्ने । अब यस बिजको मिश्रणलाई पानीमा घोलेर कपडाको मद्दतले छान्ने । उक्त पानीलाई चिनीमा मिसाएर सेवन गर्नुपर्छ ।
प्याज
लूको समस्याबाट छुटकारा पाउनका लागि काचो प्याज एकदमै लाभदायक हुन्छ । यदि संभव हुन्छ भने हरेक छाकको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गरौं । लू लागेमा जौको आटा र प्याज मिसाएर पेस्ट बनाउने । त्यसलाई शरीरमा दल्नुपर्छ । राहत मिल्छ ।
कागती
कागतीमा रहेको एन्टीअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । दैनिक चिसो पानीमा कागती र नुन मिलाएर दुई तीन पटक पिउनुपर्छ, लूको संभावना कम हुन्छ ।
पुदीना र तुलसी
पुदीना र तुलसीलाई आर्युवेदमा औषधी बताइएको छ । त्यसैले यसको पातले छालाको सौन्दर्यदेखि पेटको पाचन प्रक्रियामा समेत उपयोगी मानिन्छ । यसलाई सेवन गर्नका लागि एक गिलास चिसो पानी लिने । त्यसमा दुबैको पात पिसेर पाउडर बनाउने । स्वादको लागि चिनी पनि मिसाउन सकिन्छ । अब उक्त घोललाई पानीमा राखेर आवश्यक पर्दा पिउन सकिन्छ ।
सातु
चनाको सातु गर्मीको समस्याबाट बच्नका लागि एकदमै लाभदायक हुन्छ । यसले शरीरमा शीतलता प्रदान गर्छ । यसले पाचनसम्बन्धी समस्या पनि हटाउँछ । शरीरको तापमान नियन्त्रित राख्छ । चनाको सातु पानी, वीरे नुन र कागतीसँग घोलेर खानुपर्छ, थप फाइदा पुग्छ ।