हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाइन्छ । यो वर्ष ‘पानीका लागि प्रकृति’ नाराका साथ नेपालमा पनि पानी दिवस मनाइयो । पानी दिवसमा मात्र होइन, हामीले वर्षभरि नै पानीको महत्व र उपादेयता मनन गरिरहनुपर्छ किनभने पानी नै जीवन हो । पानीबिना प्राणीको जीवन कल्पना गर्न पनि सकिँदैन ।
पानी प्रकृतिको महत्वपूर्ण देन, प्राणी जगत्का लागि वरदान । पानीको अभावमा प्राणी जीवन सम्भव नहुने मात्र होइन, धरतीमा प्राणीको उत्पत्ति सबैभन्दा पहिले पानीमै भएको हो । मानव शरीरको अधिकांश हिस्सा पानीले नै भरिएको हुन्छ । यसै कारण पानीको अर्को नाम हो( जीवन । अमृत अर्थात् प्राणको आधार ।
-चिकित्ससकहरू स्वस्थ मानिसले दैनिक कम्तीमा तीनदेखि चार लिटर पानी पिउनुपर्ने सुझाव दिन्छन् ।
-एकजना स्वस्थ मानिस खानाविना करिब एक महिना बाँच्न सक्छ, पानीविना एक हप्ता पनि बाँच्न सक्तैन । वयस्क मानिसको शरीरमा ७० प्रतिशत भाग पानी हुन्छ ।
-मानव मस्तिष्कको करिब ८० प्रतिशत कोषिका पानीले बनेको हुन्छ ।
-नवजात शिशुको समग्र तौलको करिब ८० प्रतिशत तौल पानी हुन्छ ।
-एक स्वस्थ मानिसले दिनमा कम्तीमा ४८ कपसम्म पानी पिउन सक्छ ।
-एक दिनमा एउटा पुरुषको शरीरलाई करिब तीन लिटर पानी आवश्यक पर्छ भने महिलालाई २ दशमलव २ लिटर अर्थात् करिब ९ कप पानी आवश्यक पर्छ ।
-जबसम्म मानिसले प्यास लागेको महसुस गर्छन्, त्यतिबेलासम्म शरीरले समग्र पानीको करिब एक प्रतिशत हिस्सा नष्ट गरिसकेको हुन्छ । त्यसैले सकेसम्म प्यास लाग्नुअगावै पानी पिउनुपर्छ ।
-पर्याप्त मात्रामा पानी पिउने मानिस आर्थराइटिसबाट बच्नसक्छ । पानी पिउने बानीका कारण शरीरमा पानीको कमी हुन पाउँदैन अनि घँुडा तथा जोर्नीहरूमा घर्षण कम भई आर्थराईटिस अर्थात् बाथ रोग हुने सम्भावना कम हुन्छ ।
-पर्याप्त मात्रामा पानी पिउँदा क्यान्सर तथा मुटु सम्बन्धी रोग लाग्नबाट समेत जोगिन सकिन्छ । पानीले शरीरमा भएका विषादीलाई पसिना तथा पिसाबको माध्यमद्वारा बाहिर निकाल्न मद्दत गर्छ । रक्तनली तथा आन्द्रामा जमेका फोहरसमेत पखालिदिन्छ । शरीर भित्रैदेखि सफा भएपछि रोग कसरी लागोस् त १
-प्रशस्त मात्रामा पानी पिउँदा मुख तथा दाँतसम्बन्धी रोग लाग्न पाउँदैन । पानी खाँदा प्रशस्त मात्रामा थुक उत्पादन हुन्छ, जसले मुख तथा दाँतलाई स्वस्थ रहन सघाउँछ ।