Monday 14th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन्

Monday, February 5, 2018 National Power


२२ माघ,काठमाण्डौ – नेपालमा व्यक्तिगत वा समूहगत रूपमा सेवा र कल्याणका कार्यहरू परापूर्व कालदेखि नै हुँदै आएको थियो । हुनेले नहुनेलाई, सक्नेले असक्तलाई आवश्यक सहयोग गर्ने, दान दातव्य दिने, पाटी पौवा, पँधेरो, बाटो, घाटो, पुल, चौतारा बनाउने, गुठी राख्ने, धर्म भकारी राख्नेलगायतका कार्य गरी परोपकार गर्ने र परलोकसमेत सुधार्ने ध्येय राखिन्थ्यो । केही राजा महाराजाहरूले समाज सुधारका कार्य गर्ने गरिएको देखिन्छ । लिच्छवीकालमा राजा मानदेवले दुनियाँको सुख सुविधाका लागि सफा पानी ल्याउन लगाई आफ्ना बासिन्दालाई पानी खान दिने व्यवस्था भएको कुरा काठमाडौंको केल टोलमा रहेको शीलालेखमा उल्लेख छ । विश्वमा घटेका द्वन्द्व र विश्वयुद्ध जस्ता दुखद् मानवीय विनासका घटनापछि मानवीय सेवा तथा उद्धारका निमित्त अन्तर्रा्ष्ट्रिय स्तरका सङ्घ संस्था स्थापना हुने क्रम बढ्दै गयो ।


नेपालमा पनि महान् समाजसेवी तुलसी मेहर श्रेष्ठले वि.स. १९८३ सालमा श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गरी संस्थागत विकासको थालनी गरे । यसपछि २००४ सालमा औषधालयको रूपमा परोपकार संस्थाको स्थापना भयो । तत्पश्चात क्रमशः सङ्घ संस्था स्थापना हुने क्रम बढ्दै गयो । यसरी सङ्घ संस्थाको सङ्ख्या बढ्दै जाने क्रममा संस्थाका काममा दोहोरोपना देखिने, एकअर्कामा समन्वय हुन नसक्ने, समन्वयको अभाव देखापर्यो । यस स्थितिमा सामाजिक कार्यकताकाका बीचमा सम्पर्क तथा समन्वय गर्न समय समयमा भेला गोष्ठीमध्ये वि.स. २०२८ सालमा रामपुर, चितवनमा पहिलो पटक र २०२९ सालमा झापा र नेपालगञ्जमा गोष्ठीको आयोजना भए पनि ठोस कार्य्दिशा भने २०३० साल चैत २२ गतेदेखि २६ गतेसम्मको ५ दिने राष्ट्रिय स्तरको सामाजिक कार्यकर्ता गोष्ठीमा समाजसेवीहरूको वैज्ञानिक चिन्तन भएको देखिन्छ ।
यसै सन्दर्भमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको अध्यक्षतामा ३८औँ सामाजिक सेवा दिवस आगामी असोज ४, ५ र ६ गते बृहत् कार्यक्रमसहित मनाउने निर्णय गरिएको छ । समाज कल्याण परिषद्द्वारा गठित मूल समारोह समितिले प्रभातफेरी, स्वास्थ्य शिविर, रक्तदान, ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, शान्ति दीप प्रज्ज्वलन आदि कार्यक्रम गर्ने भएको छ । ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, सुरक्षा आनन्दमय जीवनको आधारभूत पूर्वसर्त नै हो र उनीहरूकोे पहुँचप्रति नै हाम्रो नीति केन्द्रित हुनुपर्छ, तर वृद्ध उमेरमा उनीहरूको स्वास्थ्य उनीहरूकै जीवनशैली र जीवनभरीको व्यवहारमा पनि भर पर्छ । ज्येष्ठ नागरिकलाई रोग लागिसकेपछि गरिने स्याहारहरूभन्दा पहिले नै उनीहरूको स्वास्थ्यमा सुधार गर्नु आवश्यक हुन्छ र आय—बचत, उपार्जनका उपायहरू गराउन प्रतिभाको सम्मान र योगदानको कदर गर्दै आत्मनिर्भर बनाउनेतर्फ लाग्नु पर्छ । परिवारमा स्याहारकर्ताका लागि प्रोत्साहन र आवासका योजनामा पनि विचार पुर्याउनु पर्छ ।
ज्येष्ठ नागरिकका लागि भावनात्मक सुरक्षा निकै आवश्यक छ । शारीरिक स्वास्थ्यले मात्रै व्यक्तिको सुखको मापन गर्न सकिँंदैन। विशेषतः वृद्धावस्थामा मानिसलाई सामाजिक अन्तरक्रिया, उचित सम्मान, माया, आत्मिक सन्तुष्टि, देश दर्शन, आध्यात्मिक जस्ता कुराहरूको आवश्यकता पर्छ । यसै अनुरूप ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन् भने कुरा स्थापित हुन जरुरी छ । धेरै स्वयंसेवी संस्थाहरू, धार्मिक संस्था तथा निजी संस्थाहरूले पनि वृद्धाश्रम सञ्चालनमा ल्याएका छन् । तिनीहरू पनि ज्येष्ठ नागरिकको आवश्यकतालाई सम्बोधन गर्दछन् र उनीहरूलाई मायालु र उपयुक्त तरिकाले उपचार तथा हेरचाह गर्दछन् । परिवार बढीभन्दा बढी एकल बनिरहेको र बाँच्ने औसत उमेर पनि लामो भइसकेका कारण अवकाश प्राप्त र निःसहाय ज्येष्ठ नागरिकहरूका लागि विशेष कदम चाल्नु आवश्यक देखिन्छ ।
जीवनको उत्तराद्र्धमा आफ्नो जीवन व्यतित गरिरहेका ज्येष्ठ नागरिकसँग मनोसामाजिक, आर्थिक तथा स्वास्थ्यसँग सम्बन्धित समस्याहरू धेरै हुन्छन् । नयाँं पुस्ताको जीवनशैलीमा भइरहेको तीव्र परिवर्तनका साथै विभिन्न समाजको सिको गर्ने बानीले गर्दा नै अहिले आमाबुबा वृद्धाश्रम धाउन बाध्य भएका छन् । परिवार हामी सबैका लागि अनिवार्य आवश्यकता हो भन्ने कुरा पश्चिमी समाजले पनि बुझ्दै गइरहेको छ र अनुसन्धानले पनि देखाएको छ । त्यसैले म यहाँं जोड्न चाहन्छु “सकेसम्म घर—गाउँ, नभए मात्र वृद्धाश्रम” । सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट प्रयास नभएका होइनन् । तर ठोस उपलब्धिहरू भने कम्ती नै देखा पर्छ ।
प्रतिभाको सम्मान र योगदानको कदर
नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद्को समाजकल्याण ऐन, २०४९ को धारा १७ र समाज कल्याण परिषद् कोष स्थापना र सञ्चालन नियामावली, २०५५ को चौथो संशोधन २०७२ बमोजिम स्थापना भएको हो । नेपालको संविधान २०७२ भाग ३ धारा ४१ मा ज्येष्ठ नागरिकसम्बन्धी राज्यबाट विशेष संरक्षण तथा सामाजिक हक हुनेछ भन्ने उल्लेख छ । संविधानको मर्म र भावनाअनुरूप ज्येष्ठ नागरिकलाई संरक्षण संवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय ज्येष्ठ नागरिक कोष स्थापना भएको छ ।
आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेपछि जीवनको उत्तराद्र्धमा सम्मानपूर्वक बाँच्न पाउनु नै ज्येष्ठ नागरिकको एक मात्र चाहना हो । शारीरिक मानसिकरूपले कमजोर हुँदै जाने क्रममा परिवार, समाजबाट हेरिने नकारात्मक दृष्टिकोणका कारणले आज ज्येष्ठ नागरिक जोखिमपूर्ण दुःखद् जीवन व्यतित गर्न बाध्य भएका छन् । पारिवारिक माया ममताबाट टाढा रहेर बाँच्नुपरेको छ, साथै यात्रा गर्दासमेत ज्येष्ठ नागरिकहरूले जोखिम मोल्नुपरिरहेको छ । विश्व अर्थतन्त्रमा भएको विकास, विज्ञान र प्रविधिको दिनानुदिनको प्रगतिले नेपाली समाजमा पर्न सक्ने प्रभावको सम्भावनाप्रति बेलैमा सजक भई तदानुकूल कार्य गर्न आजको आवश्यकता हो ।
ज्येष्ठ नागरिक सम्बन्धमा अन्तर्रा्ष्ट्रिय र क्षेत्रीय स्तरमा भए गरेका निर्णयहरू, घोषणाहरू, प्रतिबद्धताहरू एवं कार्यहरूमा उल्लेख भएका विषयसमेतलाई हाम्रो मुलुकको परिवेशमा अनुकूल र उपयुक्त हुने गरी राष्ट्रिय कार्ययोजनाको माध्यमद्वारा चरणबद्धरूपमा कार्यान्वयन गर्दैैै जानुपर्ने आवश्यकता छ । ज्येष्ठ नागरिक समाजका गहना हुन्, यसलाई प्रकृतिको नियमका रूपमा ग्रहण गर्दै उनीहरूको सीप, दक्षता समाजमा हस्तान्तरण गर्दै लैजानुपर्छ । विश्वव्यापी अध्ययन अनुसन्धानले ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो रूपमा देखिन्छ । सन्तान कम हुनु, सन्तान विभिन्न उद्योगधन्धा व्यापार, वैदेशिक रोजगारी र व्यवसायमा व्यस्त हुनु आदि कारणले ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने, स्याहार सम्भार गर्ने उचित वातावरण रहँंदैन । कतिपय परिवारमा ज्येष्ठ नागरिकलाई आर्थिक बोझको रूपमा लिएर जबरजस्ती घरबाट निकालिएका घटनाहरू यदाकदा सुनिन्छ । यस वर्ष अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा पनि ‘ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौँ” रहेको छ ।
आजको बालक भोलिको यौवन, त्यसपछि त प्रौढ हुनै पर्छ, त्यसमा न विज्ञानले छेक्न सक्छ न त प्रकृतिले रोक्न सक्छ । त्यसैले ज्येष्ठ नागरिकप्रति श्रद्धाभावले हेरौँ, सहयोगी हातहरू लम्काऔँ, हेलाहोचो नगरौँ, उनीहरूको हेरचाह स्याहार सम्भार गर्नु मानवीयता हो भन्ने कुरा कहिले नभुलौँ ।
ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् । उनीहरूको अनुभव, योग्यता, दक्षतालाई राष्ट्र विकासमा उपयोग गर्न सकिन्छ । ज्येष्ठ नागरिक समाजका गहना हुन् । उनीहरूलाई समाजका मूल्य, मान्यता, संस्कार र संस्कृतिहरू संरक्षित भइरहेका हुन्छन् । त्यसैले व्यक्ति, परिवार, समाज र सिङ्गो राज्य ज्येष्ठ नागरिकको संरक्षण सम्बद्र्धनमा लाग्नुपर्ने हुन्छ । उनीहरूलाई समयसापेक्ष ऐन, कानुनद्वारा संरक्षण संवद्र्धन गर्ने, सेवा सुविधाहरू उपलब्ध गराउने, उनीहरूको अनुभव सीप र दक्षतालाई राष्ट्रिय विकासमा उपयोग गर्नु आजको आवश्यकता हो । सन् १९९५ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको शुभकामना सन्देश लिएर जोर्डनको राजधानी अम्मानमा भएको अन्तर्रा्ष्ट्रिय पत्रकार महासङ्घको १२औँ महाअधिवेशनमा भाग लिन जाने क्रममा ज्येष्ठ नागरिकको संरक्षण र संवद्र्धनका लागि गरिएको सोचको परिणामको रूपमा ज्येष्ठ नागरिक कोषको स्थापना भएको अनुभव गर्दछु । अहिले वृद्ध आमाबुबालाई घरमा नराखी वृद्धाश्रममा राख्ने चलन फेसनजस्तो भइरहेको छ । यस्तो अवस्थामा आमाबुबा आफ्नो सन्ततिबाट अपहेलित भएको अनुभव गर्छन् । यसलाई निराकरण गर्नका लागि हामीले छोराछोरीलाई सम्झाई बुझाई सम्मानजनक रूपमा बाँंच्न दिन र उनका हक अधिकार कुण्ठित नहोस् भन्ने हेतुले दिवा सेवा केन्द्र सञ्चालनमा ल्याउनुपर्छ ।
त्यस्तै, ज्येष्ठ नागरिक कोषको पहलमा संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा डायबिटिज नेपालको आयोजनामा एसियन डायबिटिज सम्मिटसमेत गरिएको थियो । त्यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानस्वरूप गणतान्त्रिक सहिद स्मृति बाटिका अभियानद्वारा अन्तरक्रिया कार्यक्रममा मुख्य अतिथि बनाइएको थियो ।

रामकृष्ण कर्माचार्य