५माघ,काठमाण्डौ – हाम्रो शरीरमा भिटामिन ’ए’ को कमी भएमा अनेक प्रकारको स्वास्थ्य समस्या देखिन्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । भिटामिन ’ए’ को कमी हुन नदिन विभिन्न किसिमका फलफूल र खाद्यपदार्थ प्रशस्त खाने गरिन्छ ।
त्यस्तै नेपालमा सरकारले पनि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क उक्त क्याप्सुल लामो समयदेखि खान दिइरहेको छ ।
दादुरा, झाडापखाला, कुपोषण र श्वासप्रश्वाससम्बन्धी रोगको न्यूनीकरणमा भिटामिन ’ए’ले महत्त्वपूर्ण भूमिका खेलेको छ ।भिटामिन ’ए’को कमी शरीरमा हुनु हुँदैन भन्नेमा सचेतना पनि पछिल्लो समयमा हामीमा बढ्दै आएको छ । तर,त्यही भिटामिन ’ए’ बढी भएमा शरीरलाई कस्तो असर गर्छ भन्नेमा धेरै मानिस अनभिज्ञ नै रहेका छन् ।
भिटामिन ’ए’ धेरै भयो भने शरीरले पचाउन सक्दैन र त्यो जम्मा भएर बस्दा अनेकौं समस्या निम्तिने गरेको पनि बिरामी यसबारे अनभिज्ञ रहने गरेको विज्ञहरु बताउँछन् । भिटामिन ’ए’ खानुपर्छ मात्र भनेर जनचेतना फैलियो ।तर, बढी भएमा के समस्या आउँछ भन्नेमा कसैले पनि बोलेको पाइँदैन ।
बिज्ञहरुका अनुसार ’भिटामिन ’ए’ बढी भएमा स्वास्थ्यमा थुप्रै असर पर्ने विभिन्न अध्ययनबाट पुष्टि भएको छ । त्यसैले यसबारे पनि जनचेतना फैलाउन आवश्यक रहेको छ ।
प्रत्येक दिन प्रतिव्यक्ति एक लाख आईयू भिटामिन ’ए’ ६ महिना वा बढी खाएमा दीर्घरोगले आक्रमण गर्ने सम्भावना बलियो हुन्छ । शरीरमा भिटामिनको मात्र ३० लाख ’आईयू’ जम्मा भएमा त बिरामीको मृत्युसमेत हुने विज्ञहरु बताउँछन् ।
त्यस्तै छोटो समयमा धेरै भिटामिन ’ए’ खाँदा झुम्म भइरहने, रिसाउने बानीको विकास हुने, चिडचिडाहट हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, तनाव बढ्ने लक्षण देखा पर्छन् ।
भिटामिन ’ए’ बढी भयो भने बालबालिकामा टाउकोको हड्डी कमजोर हुने, एउटा बस्तु दुईवटा देख्ने, आँखाको भाग बाहिर निस्केको जस्तो हुने, तौल बढ्नेलगायत समस्या देखिन्छ’, उनले भने, ’गर्भवती महिलाले भिटामिन ’ए’ बढी खाएमा शिशुको आँखा, टाउको, फोक्सो, मुटुमा पनि समस्या देखिन सक्छ ।
लामो समयसम्म धरै भिटामिन ’ए’ खाँदा धमिलो देख्ने, हड्डी सुनिने, दुख्ने, खानामा रुचि नहुने, अल्छी लाग्ने, वाकवाकी र बान्ता आउने, घाममा हेर्न नसक्ने, छाला चिल्लो हुने, खुइलिने, बोक्रा निस्कने, नङ फुट्ने, छाला पहेंलो हुने, कपाल झर्नेलगायत असर देखा पर्छ। यस्तै श्वासप्रश्वासमा समस्या आउने, बिर्सने वा दोधारमा पर्नेलगायत समस्या देखिन्छन्।
बिज्ञका अनुसार भिटामिन ’ए’ बढी भएमा शिशुको कलेजो बिग्रिने, हड्डी कमजोर हुने, क्याल्सियम जम्मा हुँदा मिर्गौला फेल हुने समस्या जन्मजात रूपमा देखिन्छन् । त्यसैले पनि कस्ले कति मात्रामा भिटामिन खाने भन्नेमा ज्ञान हुन आवश्यक रहेको छ।
भिटामिन ’ए’ बढी हुँदा थाइराडमा समेत क्षति पुग्ने गर्छ । भिटामिन ’ए’ पाइने फलफूल र खाद्यपदार्थ घरमा खाइरहेका व्यक्तिलाई सप्लिमेन्ट दिन आवश्यक नहुनेमा बिज्ञहरूले पनि जोड दिन थालेका छन् ।
भिटामिन ए के के मा पाइन्छ त ?
भिटामिन ’ए’ बढी पाइने माछाको तेल, कलेजो, अन्डा, घिउ, बोसो, पहेंला फलफूल (फर्सी, सुन्तला, गाजर, मेवालगायत) ठिक्क मात्रामा खानुपर्छ। गाजरलगायत फलफूल काँचो धेरै खाँदा शरीरले पचाउन नसक्ने त्यसको प्रतिअसर देखा पर्ने गर्छ। अन्डा, दूध र दूधबाट बनेका परिकार (नौनी, घिउ, चीज, दही) लगायत पशुजन्य स्रोतमा पनि भिटामिन ’ए’ पाइन्छ। सुत्केरी आमाको बिगौती दूधमा पनि भिटामिन ’ए’ पाइन्छ। गाढा हरियो रङको पात भएका साग सब्जीहरू (सिस्नु, कर्कलो, लुडेसाग, धनियाँको पात, लट्टेको साग, फर्सीको मुन्टा, तोरीको साग, मूलाको पात, रायो, चनाको, मेथीको साग, चम्सुर, पालुंगो) प्रशस्त भिटामिन ’ए’ पाइने गर्छ ।