Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

निर्दोषको मित्रता सार्वजनिक

Tuesday, December 26, 2017 National Power

११ पौष , काठमाडौं – गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त एल्बम ‘मित्रता’ सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले सदाबहार गीतकार बन्ने बाटोमा क्रियाशील रहेको बताए । बास्कोटाले कभर सङ गाउनेको प्रवृत्तिलाई व्यवस्थापन गर्नुपर्ने बताउँदै रोयल्टी व्यवस्थापनलाई पनि सशक्त ढंगले अगाडि बढाउनु पर्ने बताए । गीतकार माधव निर्दोष १२ वर्ष अगाडि भेट्दादेखि अहिलेसम्म निरन्तर गीतसंगीत, साहित्य, पत्रकारिता जस्तो क्षेत्रमा क्रियाशील रहेको देख्दा खुशी लागेको बताए । त्यसैगरी संगीतकार सन्तोष श्रेष्ठ पनि निरन्तर आफ्नो संगीतको कार्यमा ध्यान दिएर हिंड्ने संगीतकारको रुपमा पाएको बताए । मित्रता एल्बमको टीमलाई नै शुभकामना दिँदै बास्कोटाले गीतसंगीतमा निरन्तर लागिरहे सफलता हातमा रहेकोसमेत बताए ।

संगीत कला पत्रकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, संगीतज्ञ बुलु मुकारुङ, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि।क।, वरिष्ठ चलचित्र पत्रकार एवं गीतकार शान्तिप्रिय रहेका थिए । कार्यक्रममा गीतकार माधव निर्दोषको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिसकेपछि कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । संघका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार माधव निर्दोषले स्वागत मन्तव्य दिँदै आफ्ना विगत र गीति लेखनका बारेमा प्रष्ट पारेका थिए । निर्दोषले आफूलाई संगीतकार बुलु मुकारुङले नै गीति लेखन राम्रो छ भन्दै गीतकार बन्ने बाटो देखाएको बताएका थिए । त्यसैगरी संगीतकार सन्तोष श्रेष्ठले मितेरी एल्बमदेखिको सांगीतिक साइनोले आत्मीयता र मित्रतासम्म एकल संगीत गर्ने अवसर मिलेको बताएका थिए । निर्दोषका गीतका लाइनमा नै आफैं संगीत भरिएको बताउँदै श्रेष्ठले एउटा राम्रो गीतकारका रुपमा आफूले पाएको बताएका थिए ।

त्यसैगरी वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले मितेरी, आत्मीयता हुँदै मित्रता आइपुग्दा अझै आत्मीयतामा परिणत होस् भन्ने शुभकामना व्यक्त गर्दै गीतकारले धानेको संगीत उद्योगका रुपमा पाएको बताएका थिए ।
त्यसैगरी वरिष्ठ संगीतज्ञ बुलु मुकारुङले गीतिकथाको रुपमा लेखन सुरु गर्दै गीतकारसम्म आइपुग्दा एउटा इतिहास बनेको बताएका थिए । भोलिको इतिहासले अब माधव निर्दोष गीति कथा लेखनको सशक्त नामका रुपमा चित्रित गर्ने बताएका थिए भने संगीतकार सन्तोष श्रेष्ठ दोस्रो शम्भूजितका रुपमा चिनिने लाइनमा निरन्तर क्रियाशील रहेको बताएका थिए । काठमाडौं जस्तो महङ्गो स्थानमा सन्तोष श्रेष्ठ कुनै जागिर बिना निरन्तर संगीत सिर्जनामा लागेको देख्दा भोलिको एउटा संगीतको विशिष्ट व्यक्तिका रुपमा परिचित हुने युवा भएको बताएका थिए ।

गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले नेपाली कला संस्कृतिको समृद्धिमा लागिपरेका गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको मित्रतालाई शुभकामना दिँदै स्रष्टा सदैव अमर रहने भूतपूर्व नहुने बताएका थिए ।

मित्रता एल्बमभित्र सन्तोष श्रेष्ठको एकल संगीत र माधव निर्दोषको एकल गीत रहेको छ । एल्बमभित्र मुटुविना, आऊ नजिकै आऊ, तिमीसँग छुटेपछि, तिम्रो सधैं जित हुँदा, जाऊ छोडेर जाऊ जस्ता गीतहरु समावेश रहेका छन् ।