७ पौष काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बालुवाटारमा बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । दलहरुको आ–आफ्नै अडानका कारणले सहमति जुटन नसकेको हो ।
बैठकपछि काङ्ग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने बताए ।
पौडेलले सञ्चारकर्मीसँग भने ”अध्यादेश नआएसम्म सहमति हुदैन, राष्ट्रिय सभा गठन नभएसम्म प्रतिनिधिसभा पूर्ण हुँदैन।” उनले सहमतिका लागि माओवादी केही लचक हुन खोजेपनि एमालेले आफ्नो अडान नछाड्दा सहमति नभएको दावी गरे ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति हुन नसकेको बताए ।
श्रेष्ठका अनुसार नयाँ सरकार र नयाँ प्रकृया रोक्न सरकारले फरक बाटोबाट अध्यादेश ल्याएकोले राष्ट्रियसभा निर्वाचनमा सहमति नजुटेपनि केन्द्रीय सरकार निर्माणको प्रकृया रोकिदैन । उनले अझै सहमतिका लागि दलहरुबीच प्रयास हुने पनि जानकारी दिए ।
दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणाली अन्र्तगत गर्ने भन्नेमा काङ्ग्रेस र बाम गठबन्धनबीच विवाद हुदै आएको छ ।