Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

भोट माग्ने हरिबोल स्टाइलः करुवा अंकित झण्डा लिने, “मलाइ जिताउन यस्मा हाल्ने है” भन्दै करुवा देखाउने, धन्यवाद भन्ने, बाटो लाग्ने (भिडियो र फोटो फिचर सहित)

Sunday, December 3, 2017 National Power

नवराज दुवाडी    
१७ मंसिर, काठमाडौँ शनीबार विहान पाँचै बजे ७० बर्षमा टेक्दै गरेका हरिबोल भट्टराई आफ्नै घरको पुजाकोठामा गुनगुनाउँदै थिए । चुनाव लागेर मात्र होइन उनको नियमित उठाइनै पाँच बजे भन्दा अगाडिनै हुन्छ, झन् ऐले त चुनावी चटारो थपिएको छ ।

विगत केही दिन देखि चुनावी दौडधुपले छपक्कै छोपेको भट्टराइ परिवारमा माइला छोरा ऋषभ भट्टराइ अझ बढी व्यस्त छन् । वुवाको चुनावी अभियानको तालिका, चुनावी व्यवस्थापन तथा चुनावी सहकार्य गरिरहेका दलहरुसंगको छलफल सबैमा ऋषभको व्यस्तता हुने गरेको छ, अझ भनौँ उम्मेद्वार रहेका आफ्नो वुवाको भन्दा बढी ।

त्यसैको थकाइए स्वरुप होला ऋषभ सायद उठ्न भएका थिएनन्, त्यसैले पुजापाठ सक्नासाथ गहकिलो स्वरले “ऋषभ, ए ऋषभ”को आवजले छोरा ऋषभ मात्र होइन उठ्न बाँकी घरका अन्य सदस्यहरु पनि जर्याकजुरुक उठे ।

हरिबोल चियाका अम्मली हुन्, त्यसैले विहानै करिब २ पटक चिया पिइसकेपछि छोरा ऋषभले हाँकेको गाडीमा बसेर विजुली बजार स्थित विपी चिन्तन प्रतिष्ठानको कार्यालय आइपुगे, जुन उनले भर्खरै स्थापना गरेको नेपाली काँग्रेस विपीको कार्यालय पनि हो । कार्यालयमा केही विपी काँग्रेसका कार्यकर्ता त केही शुभचिन्तकहरु अघिनै आइपुगीसकेका रहेछन् ।

हरिबोलको आफ्नै स्टाइल छ, व्यक्तिगत बाहेक कुनै पनि अफिसियल वा पार्टी संग सम्बन्धित सबै भेटघाट कार्यालयमानै गर्ने । भन्छन् “नेतृत्वमा बस्नेले सबैकुरा पारदर्शी बनाउनु पर्छ, सबैकुरा सबैसामु स्पष्ट हुनु जरुरी छ । ”

प्रकाशमान सिंह, रविन्द्र मिश्र तथा वामगठबन्धनका अनिल शर्माहरु जस्ता हेविवेटहरुसंंग चुनाव लडेका भट्टराइ कार्यालयमा आउनेहरुसंग छोटो कुराकानी गर्दै गर्दा उनको अनुहारमा हतारो देखिँदै थियो ।

करिब आधा घण्टाको बसाइमा उनले करिब १५ देखि २० जनासंग छोटो कुराकानी गर्न भ्याइसकेका थिए ।

घडीले साँढे सात बजाउँदै गर्दा उनका छोरा ऋषभ फुत्त भित्र पसे जान हतार भएको संकेत गरे । यत्तिकैमा बाहिर करिब ५० देखि ६० जना जति कार्यकर्ताहरु हातमा करुवा अंकित झण्डा लिएर तयारी अवस्थामा थिए ।

शनीबार भट्टराइको घरदैलो अभियानको एरिया घट्ेकुलो र आसपासका ठाउँमा रहेछ । पहिलो चरणमा एकसरो सबैठाउँको अभियान सकेका उनले दोश्रो चरण अन्तर्गतको घरदैलो अभियान रहेछ ।

छोरा ऋषभले चलाएको गाडीमा उनी बसे, पार्टीका अन्य पादधिकारीह तथा कार्यकर्ताहरु कोही गाडीमा त कोही मोटरसाइकलमा बसेर घट्टेकुलो तर्फ लागे ।

भट्टराइ २०४३ सालमै काठमाडौँको मेयर भइसकेका व्यक्ति, त्यसमाथि २०४८ सालमा तत्कालिन एमालेका महासचिव मदन भण्डारीसंग चुनाव लडेर चर्चामा आएका व्यक्ति । त्यतीमात्र होइन २०४३ सालमा मेयर हुँदा बहुदलीय व्यवस्था र प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा समर्थन गरेर सकृय सहभागी भएका व्यक्ति । यही कारणले ८ महिनाको छोटो समयमानै मेयर पद गुमाउनु परेको थियो ।
यहि कारणले पनि यो क्षेत्रका आम मतदातावीच उनलाइ चिनाइरहनु पर्ने रहेनछ । ओजिलो व्यक्तित्व, गजबको तार्किक क्षमता भएको अहिले सम्म आफ्नो छवि स्वच्छ राख्न सफल भएको तथा सनातन हिन्दुराष्ट्रको पक्षमा वकलत गर्दै हिडे्को व्यक्ति, सबैले उनलाइ परैबाट चिन्दा रहेछन् ।


घट्टेकुलोको मोड भन्दा पछाडी एउटा तीन तले घरबाट एकजना अधवैंसे व्यक्ति गेटबाट फुत्त निस्किए र भट्टराइलाइ ग्वाम्म आँगालो हाले ।
“हाम्रो हरिबोल दाई, यहिबाट चुनावमा उठ्नु भाको छ । हामीले भोट हाल्ने उहाँलाइनै हो है ।”

गेट भित्र रहेका आफ्ना परिवारका सदस्यहरु प्रति हेर्दै यसो भन्दै गर्दा हरिबोल बाहिर मुसुमुसु हाँस्दै थिए । कार्यकर्ताहरु नाराबाजी गर्दै थिए, सायद भित्रबाट कसैले केही भने जस्तो लाग्यो ।

“एकछिन् चुप लागो त” भट्टराइले कार्यकर्ताहरुलाइ साम्य पारे । “अनि के भन्नुभएको रे ?” गेटबाट भित्र चिहाउँदै भट्टराइले प्रश्न गरे ।

एक जना बुढी आमाले सोधिन् “बाबु पहिला त रुखमा हालेको हो । बाबुलाइ नी रुखमै हाल्ने हो ? ”

बुढी आमाको कुरा भुँइमा खस्न नपाउँदै भट्टराइले एक जना कार्यकर्ताको हातमा रहेको करुवा अंकित झण्डा लिएर भने होइन होइन, “यी करुवामा आमा करुवामा ।”

“ए करुवामा हाल्नी ?” बुढी आमाले सोधिन् ।

“हजुर आमा करुवामा हाल्नी ।” अनि संगै रहेका छोरा ऋषभले पार्टीले छापेको नमुना मतपत्र लिएर भित्र छिरे । यतिन्जेल घरमा रहेका प्राय सबै सदस्य जम्मा भइसकेका थिए । उनले सबैलाइ देखाउँदै यसरी वरीपरी, दयाँबाँया कतैपनि नछोइकन करुवामा भोट हाल्ने भन्दै सिकाए ।
कोही थाहा छ, भन्दै त कोही बुझेको जस्तो गर्दै मुन्टो हल्लाए ।

“ल हाम्रो घरको सबैभोट हरिबोल बाबुलाइनै हो । चिन्ता नगर्नुस बाबु” बुढी आमाले भनिन् । “हस् धन्यवाद” भन्दै भट्टराइको टोली अगाडि बढ्यो ।


घट्टेकुरो एरियाका सबैजसोलेभट्टराइलाइ व्यक्तिगत रुपमा पनि चिन्दा रहेछन् । सबैको गेटमा पुग्दै भट्टराइ हात जोड्दै, फिस्स हाँस्ने, ल यसपाली मलाइ मौका दिनुुस् म तपाइहरुलाइ गुनासो गर्ने ठाउँ राख्दिन भन्ने, आफ्नो चुनाव चिन्ह करुवा देखाउँदै घट्टेकुलो, अनामनगर लगाएतका आसपासमा क्षेत्रमा घरदैलो गरे ।

करिब १२ बजे शनीवारकोे लागि घरदैलो कार्यक्रमको मैजारो गरे । अनि केही खाना खान थाले, भने कोही घरतिर लागे । भट्टराइ छोरा ऋषभ संगै युएन पार्क नजिक रहेको घरतिर लागे ।

घरमा खाना खाएर करिब १ घण्टा आराम गरेपछि उनी फेरी विजुली बजार स्थित कार्यालयमा आए । कार्यालयमा अघिनै पार्टीका महामन्त्रीहरु पुष्पराज पराजुली, सुशीलमान शेरचन लगाएतका व्यक्तिहरु आइसकेका थिए । पार्टीका पदाधिकारीहरुसंग चुनावी रणनीतिको बारेमा छलफल गरे ।

२१ गते चुनाव आइसक्यो, मौन अवधि सुरुहुने बेला भयो । प्रचासप्रसार कसरी कहाँ, के भइरहेको छ भनेर मिडिया हेरिरहेका व्यक्ति तथा पदाधिकारीहरुसंग छलफल गरे ।

करिब ४ बजे तिर फेरी बाहिर जिल्लाबाट चुनावी आएका पार्टीका कार्यकता तथा शुभचिन्तकहरुसंग छलफल गरी अन्य जिल्लाहरुमा भइरहेको चुनावी प्रचारप्रसारको बारेमा बुझे । सबैको कुरा सुनिसकेपछि केही सल्लाह पनि दिन भ्याए । एवं रितले साँझको करिब साँढे सात बजेसम्म कार्यालयमा भेटघाट र छलफल पछि आजको लागि सबै चुनावी कार्यक्रमहरु सकिएको र भोली नियमित समयमा सबैलाइ कार्यालयमा भेला हुन भन्दै उनी छोरा ऋषभसंगै घरको लागि निस्किए ।

यसरी देशकै चर्चामा रहेको काठमाडौँ क्षेत्र नं १ को निर्वाचनमा आफुलाइ उभ्याएका भट्टराइले आफ्नो चुनावी अभियान चलाइरहेका छन् । नेपाली काँग्रेसमा पुर्व महामन्त्री तथा गणेशमान पुत्र प्रकाशमान, चर्चित पत्रकार रविन्द्र मिश्र तथा वाम गठबन्धनमा उम्मेद्वार अनिल शर्मासंग चुनावी प्रतिष्पर्धामा रहेका भट्टराइ आफुले जित्नेमा ढुक्क देखिन्छन् । तथापी यहाँहुने चारपक्षिय भिडन्तमा करिब १० हजारको हराहारीमा मत ल्याएर जित्न कुनै पनि उम्मेद्वारलाई त्यती सहज भने छैन ।