Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित

Tuesday, October 31, 2017 National Power

१४ कात्तिक,बैतडी – बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको हो ।

निर्वाचन आयोगको अर्को आदेश आएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । निर्वाचन आयोगले कार्यक्रम स्थगित गर्नुको कारण नखुलाए पनि प्रत्यक्षतर्फका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग–अलग मतपत्र छाप्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताइएको छ । यसका साथै बैतडीमा मतदाता शिक्षा प्रदान गर्न छनोट भएका मतदाता शिक्षा स्वयंसेवकलाई भोलि १५ गते दिइने भनिएको तालीम पनि अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि बैतडीमा १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा स्वयंसेवकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत कसरी दिने, कसरी बदर कम गर्ने भन्ने विषयमा सम्पूर्ण मतदातालाई सिकाउने बताइएको छ । यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो । यसका साथै मतदाता शिक्षा कार्यक्रम भए÷नभएको बारेमा सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतले अनुगमन गर्ने पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाका लागि १ र प्रदेश सभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा एकलाख ३२ हजार ३१९ मतदाता रहेका छन् । विसं २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ ।