Wednesday 11th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अदुवाको परिकारबाट मनग्य आम्दानी

Saturday, October 28, 2017 National Power

११ कात्तिक,इलाम – भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गर्नुभएको हो । उहाँले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पाल्नुभएको छैन नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुभएको छ भने छोरीलाई काठमाडौँ राखेर पढाउँदै हुनुहुन्छ ।

विसं २०६८ देखि सामान्य तालीम लिएर अदुवा प्रशोधन थाल्नुभएकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्नुहुन्छ । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल खपत हुने गरेको उहाँले बताउनुभयो ।

“प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ । यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उहाँले भन्नुभयो । निरौलाले वार्षिक रु ४५ लाख बराबरको अदुवाको परिवार बिक्री गरी रु १८ लाख नाफा कमाउनुभएको छ । “व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उहाँ भन्नुहुन्छ “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेप्नुभएकी निरौलाले व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्नु भएको छ ।

“जति बेला मैलै यो उद्यम शुरु गरे । त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन् । राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो ।” उहाँ थप्नुहुन्छ “अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन । तर बनाइसकेका परिकार खेर चाहिँ फाल्नु पर्दैन ।” यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा ‘हारालुस’ हुने गरेको उहाँ बताउनुहुन्छ । “यहाँ त अहिले पनि अदुवाको सर्बतभन्दा मानिसले बुझ्दैनन् । तर बाह्रय पर्यटकका लागि भने यही सर्वत राम्रो छ ।” यस्ता परिकार इलाम बजार र फिक्कलबाटै बाह्य पर्यटकले खरिद गर्ने गरेका छन् ।

अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी निरौलाको मुख्य उद्यम भने अदुवाकै परिकार हुने गरेका छन् । बजारीकरणमा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।