Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

चुनावी तालमेलका बारेमा बिजुक्छे र निधिबीच छलफल

Tuesday, October 24, 2017 National Power

६ कात्तिक ,भक्तपुर–  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी९नेमकिपा०बीच तालमेल गर्न छलफल भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निवासमा आज बिजुक्छे र नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिबीच भएको छलफलमा दुई पार्टीबीच चुनावी तालमेल गर्नेबारे करिब एक घण्टा छलफल भएको हो । छलफलका क्रममा अध्यक्ष बिजुक्छेलाई नेता निधिले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्न आग्रह गर्नुभएको बताइएको छ ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो कुरा निधिसँग राखेको बताउँदै भन्नुभयो, “हामीले आफ्नो कुरा राखेका छौंै, उहाँले पार्टी सभापतिसँग कुरा गरेपछि त्यहीअनुसार अगाडि बढ्छौँ ।” बिजुक्छेले एमालेलाई भाइ काँग्रेसको संज्ञा दिँदै एमाले वाम पार्टी नभएको र काँग्रेस पनि सच्चा काँग्रेस नभएको भन्दै दुवै गठबन्धनसँग चुनावी तालमेल नहुने प्रस्ट्याउनुभयो ।

“वाम गठबन्धन न वामपन्थी हो, न त काँग्रेस नै सच्चा काँग्रेस हो, त्यसैले दुवै गठबन्धनसँग नेमकिपा चुनावी तालमेल गर्दैन”, बिजुक्छेले भन्नुभयो, “माओवादी सरकार पनि छ, प्रतिपक्षसँग गठबन्धन पनि गर्दैछ, एमालेले सदनमा कहिल्यै वामपन्थीको भूमिका निर्वाह गरेन ।” वर्ग र सिद्धान्त नमिल्ने गठबन्धनसँग तालमेल नगरी नेमकिपा एक्लै चुनाव लड्ने बताउँदै उहाँले राम्रो उम्मेदवार दिन र पैसा नबाँड्न निधिलाई सुझाव दिएको बताउनुभयो ।

आगामी निर्वाचनमा गुण्डागर्दी र पैसा बाँडेर भोट किन्ने प्रचलनलाई रोकेर पार्टीहरुबीच घोषणा पत्रको लडाइँ हुनुपर्ने बिजुक्छेको भनाइ थियो । भेटपछि प्रतिक्रिया दिँदै काँग्रेस नेता निधिले नेमकिपासँग निर्वाचनका बारेमा रहेको धारणा बुझ्न र छलफल गर्न आएको बताउनुभयो । चुनावी सहकार्यका बारेमा छलफल भएको प्रतिक्रिया दिँदै उहाँले तालमेलभन्दा पनि आ–आफ्नो ठाउँबाट स्वच्छ रुपमा चुनावमा भाग लिने बारेमा कुराकानी भएको बताउनुभयो ।