१ कात्तिक, बेइजिङ – चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेस, बेइजिङमा कडा सुरक्षाबीच शुरु भएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले त्यहाँ भेला भएका २ हजार प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् ।हरेक पाँच वर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन् २०१२ मा चीनको नेतृत्व सम्हालेका सी नै अर्को कार्यकालका लागि चुनिने अनुमान गरिएको छ ।एक हप्तासम्म चल्ने यस सम्मेलनले आगामी पाँच वर्षका लागि चीनको आगामी रोडम्याप पनि तय गर्नेछ ।
सम्मेलनपछि पार्टीले सर्वोच्च निर्णायक निकाय पोलिटब्युरोका सदस्यहरु पनि सार्वजनिक गर्नेछ । सम्मेलनलाई सम्बोधन गर्दै सीले चीनले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेका थिए । उनले चिनियाँ विशेषतासहितको समाजवाद हासिल गर्ने बताउँदै चीन विश्वमै शक्तिशाली भएको जिकिर गरे । उनले विदेशी राजनीतिक प्रणालीलाई अनुशरण गर्न नहुनेमा जोड दिए ।