Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

नेपाल–भारत प्रवुद्ध समुहको बैठकमा १९५० को सन्धीका विषयमा गम्भीर छलफल

Monday, October 9, 2017 National Power

२३ असोज, काठमाण्डौ – परराष्ट्रविद भेष बहादुर थापाले नेपाल–भारत प्रवुद्ध समुहको पाँचौ बैठकले दुवै देशले सकारात्मक दृष्टीकोण राखेर समस्याका समाधान गर्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दे थापाले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिदै दुवै पक्षले १९५० को सन्धीदेखि भारत–नेपाल सम्बन्ध भएका सबै विषयका बारेमा छलफल भएको बताए ।

नेपालले स्पष्ट रुपमा आफ्ना धारणा राखेको जानकारी दिदै थापाले भने, “नेपाली पक्षले राखेको कुरामा भारतीय पक्ष सकारात्मक छ । दुवै पक्षले एउटै अवधारणालाई अङ्गालेको छ ।”
सन् १९५० को सन्धीलाई के गर्ने विषयमा छलफल भएको बताउँदै थापाले त्यसमा भएका असान्र्दभिक कुराहरुलाई हटाएर समसामयिक कुरालाई समावेश गर्ने सहमति भएको बताएका छन् । उक्त सन्धीलाई विस्थापित गरी नयाँ प्रावधानको बाटोमा लाग्ने भन्नेसम्मको छलफल भएको थापाले दाबी गरेका छन् ।
“विगतमा भएका विसङ्गतीहरुलाई हटाउने विषयमा सहभति भएको छ ।” थापाले भने ।बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्रको व्यवस्था गर्नु उपयुक्त हुने ठहर दुवै पक्षले गरेका हुन् । प्रबुद्ध व्यक्ति समूहमा नेपालतर्फ संयोजकसमेत रहेका थापाले दुई देशबीचको खुला सीमा बन्द गर्ने नभई नियमन र व्यवस्थित गर्ने विषयमा सहमति जुटेको बताए ।

‘खुला सीमामा देखिएका विकृति हटाउन सीमा बन्द गर्ने होइन कि नियमनमा जानुपर्छ भन्नेमा हामी करिब–करिब निष्कर्षमा पुगेका छौँ । सीमालाई बढी सुरक्षित बनाउनु आवश्यक छ’, थापाले भने । छलफलले कुनै पनि विषयमा अन्तिम टुङ्गो भने लगाउन नसकेको थापाले बताए ।