१७ असोज, काठमाडौं – मेलम्चीको मुख्य वितरण सञ्जालमा हाइड्रोलिक परीक्षण सुरु गरिएको छ । यसका लागि सुन्दरीजलबाट वागमतीको पानी प्रयोग गरिएको छ । तर, त्यो उपभोक्ताको धारासम्म पुग्ने छैन ।मेलम्ची खानेपानी योजनाअन्तर्गत् ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ले पनि परीक्षण सुरु गरेको छ । त्यहाँ ट्रिटमेन्ट गरिएको पानी नै मेलम्चीको मुख्य वितरण सञ्जालमा पठाउन सुरु गरिएको हो ।
दशैंअघि सुन्दरीजलबाट चार किलोमिटर ‘बल्क डिस्ट्रिब्युसन सिस्टम’को परीक्षण गरिएको मेलम्चीअन्तर्गत् आयोजना कार्यान्वयन एकाइ प्रमुख तिरेश खत्रीले जानकारी दिए । दशैंका कारण रोकिएको परीक्षण १र२ दिनमै कामदार फर्किएपछि पुनः सुचारु गरिने उनले बताए ।‘पहिलो चार किलोमिटर पाइपमा पानी हालेर परीक्षण गर्दा केही ठाउँमा त्रुटी भेटियो, जुन मर्मत गरिएको छ,’ खत्रीले भने ।
अब अर्को चरणमा सुन्दरीजलबाट चाबहिल चोकसम्म पाइपको परीक्षण गरिनेछ । त्यसपछि सम्भव भएसम्म धोबीखोला हुँदै गोंगबुसम्मको मुख्य वितरण प्रणालीको परीक्षण गरिने खत्रीले बताए । चाबहिलचोकबाट त्रिभुवन विमानस्थल हुँदै मनोहरा खोलासम्म बिछ्याइएको पाइपमा पनि हाइड्रोलिक टेस्ट गरिनेछ । परीक्षण गरिएको पानी धोबीखोला, विष्णुमती र मनोहरामा फालिने छ ।
पाइप परीक्षणका लागि लागि सुन्दरीजलबाट वागमतीको पानी ट्रिटमेन्ट प्लान्टमा ल्याइएको छ ।मेलम्ची आयोजना कार्यान्वयन एकाइले पनि ट्रिटमेन्ट प्लान्टमा परीक्षण हुने वागमतीको पानी पाइपमा जाँच गरेको हो । ‘यसबाट पाइपहरुमा विभिन्न ठाउँमा चुहिने समस्या पनि पत्ता लाग्नेछ, जोडिएको ठाउँका गल्ती पनि पहिचान हुनेछन्,’ खत्रीले भने । करिब १६ किलोमिटर मुख्य पाइपलाइनको परीक्षण गर्न बाँकी छ ।मेलम्चीको सहायक पाइपलाइनमा भने मेलम्ची आएपछि मात्रै परीक्षण गरिने खत्रीले बताए ।
मेलम्चीको पानी ल्याएर पानी प्रशोधन गर्न सुन्दरीजलमा पानी फिल्टर गर्ने प्लान्टको बनेको छ । मेलम्ची खानेपानी वितरण गर्न १० वटा रिजर्भ ट्यांकी बनाइएको छ । यसरी परीक्षण गरेर राखेपछि मेलम्ची आउनासाथ पानी वितरण गर्ने वातावरण बन्ने सरकारी दाबी छ ।