Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

Monday, September 25, 2017 National Power

 ९ असोज,वीरगञ्ज –  नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।

यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले राससलाई बताउनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुुसार चालु आवको साउन, भदौ महिनामा भारतबाट रु दुई करोड सात लाख तीन हजार मूल्य बराबरको ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजार मूल्य बराबरको ६३ थान मिनी बस, रु २१ लाख मूल्य बराबरको एक थान माइक्रो बस, रु तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको दुई हजार २८५ थान जिपकार भ्यान, रु २७ करोड २५ लाख मूल्य बराबरको २१८ थान डबल क्याप पिकअप, रु २० करोड १६ लाख मूल्य बराबरको २८७ थान सिंगल क्याप पिकअपजस्ता सवारीसाधन नेपाल भित्र्याएको हो ।

यसैगरी सोही अवधिमा भारतबाट रु २५ करोड ४६ लाख ४१ हजार मूल्य बराबरको २८३ थान ट्रक मिनी ट्रक, रु ४८ करोड ८७ लाख ४४ हजार मूल्य बराबरको ६३४ थान बस, ट्रकको चेसिस तथा रु दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजार मूल्य बराबरको ३५ हजार ८१४ थान विभिन्न कम्पनीको मोटरसाइकल नेपाल भित्र्याएको छ ।

दशैँ, तिहार तथा छठमा बिक्रेताले विभिन्न प्रकारका उपहारको स्कीम राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगञ्ज नाकाबाट दुई महिनाभित्रै यति ठूलो परिणाममा सवारीसाधन नेपाल भित्र्याएको छ । अन्तःशुल्क, भन्सार र भ्याटसमेत विभिन्न प्रकारका गाडीमा २२६ प्रतिशत कर लाग्ने भए पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सवारीसाधन वीरगञ्ज नाका भएर भित्रिएको हो ।

विलासिताको श्रेणीमा गाडी आउने र ग्राहक पनि बढ्न गएकाले गत वर्षको तुलनामा यस वर्ष गाडी आयातमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको साउन, भदौ महिनामा रु छ अर्ब ५० लाख मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका थिए ।
-NPN_2017