१९ भदौ, पाल्पा – रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीयको भिडको ढुङ्गा हानाहान र प्रहरीको लाठी चार्जबाट तीनजना प्रहरी जवान र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ । झडपमा के कति व्यक्ति घाइते भए भन्ने विवरण नआएको बताइएको छ ।
हत्यामा संलग्न कपिलवस्तु हथौसा–२ मैरि बस्ने २९ वर्षीय कृष्णकमल चौधरीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दाले हत्यारा चौधरीको मोटरसाइकल इलाका प्रहरी कार्यालय, रामपुरको परिसरमा जलाइदिएका छन् ।नेपाली काँग्रेस रामपुर नगरपालिका साविक २ नं वडाका पूर्व वडासचिव ओमबहादुर खाँणलाई शनिवार साँझ खाना खाएर घरको गल्लीमा बसेको बेला एक्कासी धारिलो हतियारले आक्रमण गरी घाइते बनाइएको थियो । धारिलो हतियारबाट घाइते भएका खाँणको उपचारका क्रममा रामपुर अस्पताल ल्याउने क्रममा शनिबार नै बाटोमा मृत्यु भएको हो ।