Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

सञ्चारमन्त्रीले छड्के हान्दा

Sunday, August 27, 2017 National Power

११ भदौ, काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरे ।

उनी बिहान १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुगेका थिए । त्यहाँ संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित थिए ।

मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी पुस्तिका आफँैसँग मन्त्रालय लिएर गएका थिए ।

आजै मन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको कमलादीस्थित कार्यालयको पनि छड्के निरीक्षण गरे । मन्त्री बस्नेत बिहान १०ः४५ बजे प्राधिकरणको कार्यालय पुग्नुहुँदा अध्यक्ष कार्यालयमा भेटिएनन भने सो कार्यालयका जम्मा ५८ कर्मचारीमध्ये ४३ जना मात्रै उपस्थित भएको पाइयो ।

मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिए । त्यहाँको हाजिरी विवरण पनि उनले आफूसँगै लिएर गए ।

छड्के निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले आफूले मातहतका कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको गुनासाका आधारमा सत्यतथ्य पत्ता लगाउन निरीक्षणमा निक्लेको जानकारी दिए ।

उनले भने, “समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही हुन्छ ।” मातहतका कार्यालयमा कार्यरत जनशक्तिलाई भविष्यमा राम्रो नतिजा निकाल्ने गरी कार्यसम्पादन गर्न लगाउने उद्देश्यले निरीक्षण थालिएको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले गरेको छड्के निरीक्षण शासकीय सुधार र पारदर्शिताका लागि महत्वपूर्ण कार्य भएको मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए। उनले भने, “कार्यालय समयमा कर्मचारी आइनपुग्नु भनेको जनताका काम ढिला गर्नु हो, समयमा कार्यालय नआउनु भनेको अनुशासन बाहिरको विषय हो, त्यस्ता कर्मचारीमाथि विभागीय कारबाही हुन्छ ।”

सचिव गुरुङले निरीक्षण/अनुगमन मन्त्रालयको नियमित काम भएको र यस्तो अभियानले कर्मचारीको कार्यसम्पादन शैलीमा परिवर्तन ल्याउन ठूलो मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे ।

-NPN_2017