६ भदौ, कैलाली – घुस लिइरहेको अवस्थामा कैलालीको अत्तरियाबाट राजश्व अनुसन्धान कार्यालयका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले पक्राउ गरेको छ ।
राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायव सुब्बा राजेन्द्र साउद र कार्यालय सहयोगी टिकाराम जोशीलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो । सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।
अख्तियार दुरुपयोय अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा गएको टोलीले रंगेहात दुवै जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी खिमानन्द पाठकले जानकारी दिए । उनिहरुले कैलाली र कञ्चनपुरका व्यपारीहरुसँग मासिक रकम असुली गर्ने गरेको सूचनाको आधारमा अख्तियारको टोली अत्तरीया पुगेको थियो । पक्राउ परेका दुवै जनालाई अख्तियारको कञ्चनपुर कार्यालयमा लगिएको छ।