५ भदौ, काठमाडौं – भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन आज। पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलिकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।
कुशे औँशीका दिन उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको उनले बताए । यसैगरी आजका दिन दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ । मृत पिताका नाममा काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।
यस्तै आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।