Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ९१ जना पुगे

Tuesday, August 15, 2017 National Power

३१ साउन, काठमाडौं – गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ९१ जनाको ज्यान गएको जनाएको छ ।

बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै दुई हजार ८४७ घरमा पूर्ण क्षति भएको छ । देशका विभिन्न जिल्लामा भएका बाढी पहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

तीन हजार ७२७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढी पहिरो र डुबानबाट प्रभावितको खोज र उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको छ । नेपाली सेनाका सात र निजी क्षेत्रका ६ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधन खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले झापामा ७०० परिवारका लागि ८५१ त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण भएको छ भने सुनसरीमा ६४ क्वीन्टल चामल, १२० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, ९१० किलो नुन, २१ हजार ४५० वटा चाउचाउ, ५० लि खानेतेल, ५० कार्टुन बिस्कुट, ६४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरेको पनि जनाएको छ ।