३० साउन, काठमाडौं – नेपाल भ्रमणका लागि चीनको राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङ सोमबार काठमाडौं आउँदै छन । उनी सरकारको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने भ्रमणका लागि आउन लागेका हुन।
चिनियाँ टोली चीनबाट पाकिस्तान हुँदै नेपाल आउने छ । वाङ याङले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ ।
नेपाल भ्रमणका क्रममा चीनको राज्य परिषदका उपप्रधानमन्त्री याङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत र चीनबिच दोक्लाम क्षेत्रमा बढिरहेको विवाद, तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुन लागेका बेला चिनियाँ उच्च तहबाट हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
उनले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग द्विपक्षीय वार्ता गर्नुका साथै हनुमानढोका दरबारस्थित नौतले दरबारको जिर्णोद्धारको शुभारम्भ गर्ने कार्यक्रम छ । नौतले दरबार चीनको सहयोगमा जिर्णोद्धार हुन लागेको हो ।नेपाल भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलसँग दुई देशबिच विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन तथा आपसि हित र सहयोगका थप परियोजनाको सम्भाव्यता बारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।