१९ साउन, भक्तपुर – नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले तत्काल रिहाइ गर्न माग गरेको एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताए । माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रहेकी रेणु दाहाललाई दुई महिनाअघि सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेको विषयलाई लिएर चुनावको मुखमा निरवलाई पक्राउ गर्नु निर्वाचन नै प्रभावित पार्ने षड्यन्त्र भएको एमालेले ठहर गरेको छ ।
गत जेठ १४ गते राति (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्र च्यातेपछि निरवले फेसबुकमा आफूलाई गालीगलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएको विषयलाई लिएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।