१६ साउन, वीरगन्ज – प्रहरीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा सोमबार दुईजना युवकलाई पक्राउ गरेको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई पक्राउ गरेको हो ।
नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै पटेल र हवारीले अस्पतालको प्रसुती वार्डमा प्रवेश गरी स्त्री रोग विशेषज्ञ डा. चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई हातपात गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जानकारी दिए । अस्पतालको प्रसुती वार्डमा रहेको ढोका तोडी पटेल र हवारी प्रवेश गरी चिकित्सक तथा नर्समाथि हातपात गरेपछि आवश्यक कारबाहीका लागि प्रहरी बोलाई युवकलाई पक्राउ गर्न लागाएको डा. साहले बताए ।अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात तथा दुव्र्यवहार गर्ने युवकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन गरिएको मेसु साहले जानकारी दिए ।पक्राउ परेका दुवै युवकलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिको प्रहरीले बताए । उनीहरुमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।