१४ साउन, चितवन – अवैध ६ लाख ९५ हजार रुपैयाँसहित चितवनको लोथरबाट सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्लाही कार्यालयको सूचनाको आधारमा सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। भरतपुर महानगरपालिका स्थित मालपोत चोकनजिक रहेको घर आउँदै गर्दा मकवानपुर र चितवनको सीमा क्षेत्र लोथरमा सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार पक्राउ परेका सुवेदीको साथमा ६ लाख ९५ हजार रुपैयाँ फेला परेकाले मुचुल्का गरेर सुवेदीलाई सर्लाही पठाइएको प्रहरी थापाले जानकारी दिए। भारतीय गाडी चढेर आएका सुवेदीले गाडीको सिटमुनि लुकाएको अवस्थामा उक्त रकम फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाका प्रहरी निरीक्षक विनीमाधव पौडेलले जानकारी दिए।