३ साउन, बैतडी – स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पदमा बसेर पार्टीलाई अन्तरघात गरेको भन्दै नेकपा एमाले बैतडीले १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कार्वाही गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदिप बोहरा सुबोध, दल बहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी कार्बाही गरेको जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिए।
यस्तै पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिह भाट, पार्टी स्कुल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको उनले बताए। बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तरघात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कार्वाही गर्ने र सो भन्दा तल्लसम्म पनि पार्टी बिरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षता बैठक बसालेर वडा स्तरबाट निर्णय गरि साउन १५ भित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।