२१ असार, कञ्चनपुर – चारदिनदेखि स्थागित भएको पुनर्वासको मत गणना बुधबारबाट सुरु हुने भएको छ । सबै वडाको मत पुनः गणना गर्नुपर्ने दलहरुको मागलाई निवार्चन आयोगले स्वीकृति दिएपछि सर्वदलीय बैठकले स्थगित मत गणना बुधबारबाट सुरु गर्ने निर्णय गरेको हो ।
सबै वडाको मत पुनः गणना गर्नुपर्ने दलहरुको मागअनुसार निर्वाचन आयोग तयार भएपछि स्थागित मत गणना बुधबार दिउँसोबाट सुरु हुने सर्वदलीय बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए । उनले आयोगको पत्र आउन केहि समय लाग्ने भएकाले दिउँसो मतगणना सुरु गरिने बताए।
यसअघि, निर्वाचन आयोगले विवादित १ र ५ नम्बर वडामा पुनः मतगणना गर्ने र घोषणा गरिएका बाहेक अन्य वडामा मतगणना जारी राख्ने निर्णय गरेको थियो । तर, आयोगको निर्णयलाई दलहरुले अस्वीकार गर्दै सर्वदलीय बैठक बहिस्कार गरेका थिए । मतगणना गर्दा कर्मचारीले अनियमितता गरेको भन्दै दलहरुले सबै वडाको मत पुनः गणना गर्नुपर्ने, मतगणनामा खटाईका कर्मचारी परिवर्तन गर्नुपर्ने र मत गणना स्थलमा सिसी टिभीको व्यवस्था गरिनुपर्ने माग समेत राखेका थिए ।