९ असार, इलाम – भारतको दार्जीलिङसहितका क्षेत्रमा भाषाको विषयलाई लिएर आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं बजारमा देखिएका छन् । आन्दोलनले इलामका पशुपतिनगर, श्रीअन्तु, समालबुङलगायतका बजारमा असर परेको छ ।
दार्जीलिङ, मिरिक, कालिम्पोङ, खर्साङ लगायतका क्षेत्रमा भएको आमहडतालले सीमावर्ती नेपाली बजारको व्यापार ठप्प भएको हो । दिनहूँ १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने पशुपतिनगर बजार अहिले ठप्प छ ।
बन्द–हडताल नहुँदा पशुपतिनगर नाका भएर दिनमा ३ ट्रकसम्म तरकारी भारत जाने गरेको थियो । ‘गोर्खाल्याण्ड’को मागमा आन्दोलन चर्किएपछि भएको भारत बन्दले किसानसमेत मारमा परेका छन् । तरकारी बेच्ने मुख्य सिजनमै दार्जीलिङ बन्द भएकाले बारीमै तरकारी कुहिन थालेको पशुपतिनगरका किसानले बताए ।
दैनिक ३० हजार रुपैयाँसम्म राजश्व संकलन हुने भन्सारमा अहिले राजश्व समेत शून्य भएको छ । बन्द भारतमा भए पनि त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी पशुपतिनगरमा देखिएको पशुपतिनगर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले बताउए । दार्जीलिङबाट समूह–समूहमा आउने पर्यटकले यहाँबाट लुगाकपडा, खाद्यान्न र अन्य सामग्री किनेर लैजाने गरेका थिए ।