६ असार, काठमाडौं – स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले मंगलबार चुनाव चिन्ह दिँदैछ ।
असार १४ गतेका लागि तय भएको स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा कायम भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गराएका पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह दिने भएको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । १४ गतेको चुनावका लागि आइतबार दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।दोस्रो चरणको चुनावमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थानमा चुनाव हुने आयोगले जनाएको छ । दोस्रो चरणमा एक महानगरसहित सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा चुनाव हुनेछ । त्यस्तै ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने आयोगले जनाएको छ ।
यसैबिच निर्वाचन आयोगले प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी चुनावमा परिचालन हुँदा सेवा प्रवाह गर्न गाह्रो हुने भएकाले सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।आयोगले ३३४ स्थानीय तहका धेरै मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय तथा क्याम्पस जस्ता शैक्षिक संस्थामा तोकिएकाले असार ११ देखि असार १४ गतेसम्म सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पनि पत्राचार गर्ने भएको छ ।