१ असार, काठमाडौं – तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ । आयोगले अब चुनाव सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको छ ।
राष्ट्रिय जनता पार्टीसँग वार्ता अघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए । सरकारले तराई मधेसका केही जिल्लाहरुमा चुनाव सारेर भएपनि उसलाई सहभागी गराउन चाहेको छ ।
तर, निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको छ । ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्नु भएको छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका छन् ।
दलका नेताहरुले यो दुर्घटनाबाट बच्ने उपाय केही छन् कि सोच्नुस् उनले भने ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको बताए । चुनाव जहिले पनि चुनौतीपूर्ण हुने भन्दै उनले गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहुने बताएका छन् ।