२७ जेठ, धनुषा – नेपाल–भारत सीमा छेउमा धारिलो हतियार प्रहार गरी धनुषामा एकजनाको हत्या भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ एवं साबिकको इनरुवा गाविस–९ को नेपाल–भारत बोर्डर छेउमा गएराति एक पुरुषको हत्या भएको छ ।
गएराति स्थानीय रामबाबु यादवको घरपछाडी अन्दाजी ३० वर्षका पुरुषको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना लगतै स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका थिए । शव पोष्टमार्टमका लागि राति नै जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।
घटनास्थल नेपाल–भारत सीमाको एक सय मिटर भित्र अकोना टोलमा पर्छ । घटनास्थलबाट दुई वटा घडीसमेत बरामद गरेको छ । विवादका कारण घटना भएको हुन सक्ने आशंका गरिएको धनुषाका प्रहरीले जनाएको छ ।हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना सीमा छेउमै भएकाले भारतीय नागरिक हुन सक्ने प्रहरीले बताएको छ । घटनाको विषयमा भारतीय प्रहरीसँग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजी भइरहेको छ ।