२५ जेठ, गोरखा – गोरखामा अवैध कारोबार ढुंगा, गिट्टी, बालुवाको नियन्त्रणमा सक्रिय प्रहरी र यातायात मजदुरबीच विवाद हुँदा खोप्लाङमा गएराति केहीबेर तनाव उत्पन्न भएको छ।
नयाँ साँघुसम्मको दरौंदी बगर अनुगमन गरेर फर्किँदै गरेको सशस्त्र प्रहरीको टोलीलाई यातायात मजदूरहरुले पालुङटार–१ खोप्लाङमा गएराति बाटो छेकेपछि विवाद उत्पन्न भएको हो। त्यसक्रममा यातायात मजदुरहरुले सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठसहितको टोलीलाई गएराति घेराबन्दीमा पारेका थिए।
त्यसपछि प्रहरीले बल प्रयोग गर्यो। मादक पदार्थ सेवन गरेर आफूहरुमाथि दुर्व्यवहार गरेपछि त्यसलाई पन्छाउन सामान्य बल प्रयोग गरेको प्रहरीको भनाइ छ। मादक पदार्थ सेवनको आरोप दुवै पक्षले एकअर्कामाथि लगाएका छन्। यसबारे अनुसन्धान गरेर विवाद समाधान गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।