Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

नक्कली नोट छाप्ने एक युवक पक्राउ

Thursday, June 8, 2017 National Power

२५ जेठ, बुटवल – गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ ।

बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका–६ का २१ वर्षीय सन्तोष मल्लले नक्कली नोट तयार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको इप्रका, बुटवलका प्रहरीले बताए । प्रहरीले नक्कली नोट तयार गर्न प्रयोग हुने सामान उनको कार्यालय तथा निवासबाट बरामद गरेको हो ।

प्रहरीका अनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए ।

उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान रु एक हजारको नोट समावेश गरेर साटेको र दोस्रोपटक रु एक हजारको १०० थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएपछि अन्तिमपटक रु एक लाखको चेक साटेर आएको पैसा तत्कालै आफूले लगेको नक्कली नोटको गड्डीसँग साट्न सफल भएका थिए ।

उनले मल्लको कार्यालय र निवासबाट नेपाली रु एक हजार दरका १०० थान नोट, रु ५०० दरका १०० थान र निजले सञ्चालन गरेको कार्यालयबाट एक हजार २५९ थान र रु १०० दरका पाँच थान नोट ल्यापटप, अर्फन हेल्पिङ हेन्ड नामको ब्यानर, अर्फन हेल्पिङ हेन्ड नामको रसिद, रबर छाप र पैसा छाप्न प्रयोगमा ल्याइएका कागजसमेत बरामद भएको प्रहरीले बताएको छ ।