२३ जेठ, काठमाडौँ – आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रधानमन्त्री चुनावमा सहभागि हुने भएको छ । त्यसका लागि आज मध्यान्ह व्यवस्थापिका संसद भवन बानेश्वरमा नेपाली काँग्रेससँग सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । प्रधानमन्त्रीका लागि आज हुने चुनावमा राजपा नेपालले भाग लिने त्यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ । देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न राजपा नेपालले नेपाली काँग्रेससँग लिखित प्रतिबद्धता चाहेका कारण आफ्नो निर्णय सार्वजनिक गरेको थिएन । पुरानै गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार देउवालाई यसअघि नै उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले समर्थन जनाई सकेको छ । त्यसमध्ये फोरम नेपाल सरकारमा सहभागि हुँदैन भने लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुने भएको छ । त्यस्तै राजपा नेपाल पनि देउवालाई बाहिरबाट नै समर्थन गर्ने सरकारमा नजाने भएको छ ।