२१ जेठ, डोटी – सुदूरपश्चिमको धार्मिक एवम पर्यटकीय स्थल खप्तडमा दशहरा अर्थात गंगा दशहरा मेला आजदेखि सुरु भएको छ । माइकास्थान, सहस्त्रलिङ, नागढुंगा, खप्तड बाबा कुटी, खप्तड दह, सीतापाईला र त्रिवेणी स्नान घाटमा दर्शनार्थीको घुइँचो लागेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगम क्षेत्रमा रहेको खप्तडमा मेला भर्नकालागि देशका विभिन्न ठाउँ तथा छमेकी देश भारतबाट पनि दशहरा मेला हेर्न र खप्तडको अवलोकन गर्न दर्शनार्थी आएका छन् । विभिन्न कालखण्डमा ऋषिमुनिले तपस्या गरेको स्थल तथा धार्मिक ग्रन्थमा पनि खप्तडको चर्चा गरिएको छ ।
सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको बिच भागमा खप्तड क्षेत्र रहेको छ । समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा २६ वटा ताल र ५२ वटा पाटन छन् । यतिमात्र नभई यस क्षेत्रमा २ सय ६० प्रजातिका चराचुरुंगी, ४ सय प्रजातिका जडीबुटी, १८ प्रजातिका स्तनधारी जीव र १ सय ९२ प्रजातिका सप्तरंगी फूल पाइन्छन् ।
हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन यो मेला लाग्ने गर्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।