२१ जेठ, काठमाडौं – प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद्मा आज मतदान हुने भएको छ । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले कुनै पनि हालतमा व्यवस्थापिका–संसद्को बैठक चल्न नदिने अडान कायमै राखेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातेको विषयमा निर्वाचन आयोगले गरेको निर्णय अमान्य भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
नेकपा एमाले सर्वोच्च अदालत जाने बारे पनि आन्तरिक छलफलमा रहेको एक नेताले बताए । उनका अनुसार आज बस्ने व्यवस्थापिका–संसद् पनि सुचारु हुनेछैन । नेकपा एमालेका शीर्ष नेताको शनिबार सिँहदरबारमा बसेको बैठकले कुनै पनि हालतमा संसद् चल्न नदिने निष्कर्ष निकाल्दै सबै कानुनी उपाय खोज्ने निष्कर्ष निकालेको थियो ।