१६ जेठ, काठमाडौं – सरकारले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने तयारी गरेको छ । यससम्बन्धी निर्णय बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग चुनावका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिएको निर्वाचन आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि मन्त्रिपरिषद्ले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणा गरेको असार ९ गते शुक्रबार मुश्लिम समुदायको पवित्र पर्व रमजान परेको हुँदा सो समुदायको मागअनुरुप उनीहरुको भावनालाई सम्बोधन गर्ने र राजनीतिक सहमतिका लागि भइरहेको प्रयासलाई समेत दृष्टिगत गरी सरकारले निर्वाचनको मिति सार्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको निर्वाचन एकैपटक वैशाख ३१ गते गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने जनाउँदै दुई चरण निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।