१४ जेठ – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गए राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल पहिलो हाफमा नै भएको हो । ३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाले अग्रता लियो । मेस्सीले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर ५४ गोल गरेका छन् । ३३ औं मिनेटमा हर्नान्डेजले एलाभेसका लागि बराबरी गोल फर्काए । ४५ औं मिनेटमा नेइमार तथा पहिलो हाफको इन्जुरी समयमा एलकेसरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना ३–१ ले नै विजयी भयो । फाइनल खेलको क्रममा बार्सिलोनाका जाभियर मास्चेरानो चोटग्रस्त भएका छन् । कोपा डेल रेको सबै भन्दा सफल क्लब बार्सिलोनाले २९ पटक उपाधि जितेको छ । यो सिजनको अन्त्यसँगै बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले क्लब छोड्दै छन् । तीन वर्ष क्याम्प नाउमा बिताएका इन्ड्रिकले यसअघि नै यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएका थिए ।
आर्सनलले जित्यो एफए कपको उपाधि
प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो ।
गए राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले हरायो ।वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रता लिएको थियो ।
यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए । तर, मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय लिए ।पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का व्यहोर्यो । उसका भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाए र टिम १० खेलाडीमा समेटियो ।
१० खेलाडीमा सिमित भएर पनि ७६ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्काएको थियो । उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरे । तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र आर्सनलले उपाधि उचालेको छ । आर्सनलको यो एफए कपको १३ औं उपाधि हो भने वेङ्गरको कीर्तिमानी सातौं उपाधि समेत हो ।