Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

रामेछापको लिखु गाउँपालिकामा एमालेको जित

Thursday, May 18, 2017 National Power

४ जेठ, रामेछाप – रामेछापको लिखु गाउँपालिकामा कुल ३५ सिटमध्ये अध्यक्ष र उपाध्यक्ष सहित ३३ सिटमा एमालेले जितेको छ ।

आज बिहान घोषित मतपरिणाम अनुसार एमालेका गोविन्दबहादुर खड्का अध्यक्ष र दीपशिखा दाहाल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

खड्काले ४५९५ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर राउतले २४७४ मत प्राप्त गरेर फराकिलो अन्तरमा पराजित भए ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी दिपशिखा दाहालले ५६०५ मत प्राप्त गरेर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कल्पना खड्काले २४८० मत प्राप्त गरिन् ।

गाउँपालिकाका ७ वडामध्ये एमालेले ६ वडाध्यक्ष सहित ३३ सदस्य जितेको छ भने कांग्रेसले एक वडाध्यक्ष र माओवादी केन्द्रले एक सदस्य हात पारेका छन् ।

वडा नम्बर १ साविक दुरागाउँ गाविसबाट एमालेका निङ्मार तामाङको प्यानलै विजयी हुँदा वडा नम्बर २ साबिक सैपू गाविसमा एमालेले ३ सदस्य जित्यो । तर, वडाध्यक्षमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार पदम तामाङ झिनो मतान्तरमा विजयी भए । दुरागाउँमा आजसम्मको इतिहासमै एमालेले पहिलो पटक जितेको हो ।

वडानम्बर ३ र ४ साबिक बिजुलीकोट गाविसबाट एमालेका यामवहादुर महत र लिला बस्नेत वडाध्यक्षमा निर्वाचित भएका छन् भने वडा नम्बर ५ साबिक नागदहबाट एमालेका सोमवहादुर तामाङको प्यानलै बिजयी भएको छ ।

वडा नम्बर ६ साविक खिम्तीबाट सम्पर्क मन्चका पूर्व अध्यक्ष समेत रहेका शिव न्यौपानेको प्यानलै बिजयी भएको छ भने वडा नम्बर ७ साविक तिल्पुङ गाविसबाट एमालेका सुवास बोहोराको प्यानलै विजयी भएको छ ।

गाउँपालिका प्रमुख जितेका गोविन्द खड्का गत संविधानसभा चुनावमा राप्रपाबाट उम्मेदवार बनेका थिए । एमाले प्रवेश गरेका खड्का अहिले जिल्ला कमिटी सचिवालय सदस्य छन् । उपाध्यक्ष दीपशिखा दाहाल एमाले जिल्ला कमिटी सदस्य हुन् ।वडा सदस्यको उम्मेदवार बनेका कांग्रेसका प्रभावशाली नेता कृष्णबहादुर महत आफ्नै वडामा पराजित बनेका छन् । उनी ४ नम्बर वडाको उम्मेदवार थिए ।