२९ बैशाख, प्यूठान – प्यूठानको भिंगृ इलाका प्रहरी कार्यालयमा आज बिहान एक युवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले कपडाको पासो लगाएर हिरासतको शौचालयमा आत्महत्या गरेको प्युठान प्रहरीले जनाएको छ ।
हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव ३ बजे आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । शौचालय गएका गिरी लामो समयसम्म नआएपछि शौचालय खोलेर हेर्दा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । परिवारले भने गिरीले आत्महत्या गरेको अस्वीकार गरेको छ । परिवारले प्रहरीले नै हत्या गरेको दाबी गरेको छ ।
श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि बिहीबार मात्रै प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।