२७ बैशाख, गोरखा – चुनाव प्रचारका क्रममा गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकको खसटारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । घरदैलो कार्यक्रममा रहेका दुबै पार्टीबिच जम्काभेट भएपछि झडपको अवस्था बनेको हो ।
माओवादी केन्द्रले घरदैलो गरिरहेकै बाटो भएर कांग्रेस कार्यकर्ता पनि घरदैलोमा पुगेको र बाटो पार गरेर अगाडि बढ्ने क्रममा झडप भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । झडपका क्रममा दुबै पक्षले घरेलु हतियारले एक अर्को पक्षलाई आक्रमण गर्न खोजेको स्थानीय बासिन्दाले बताएका छन् । माओवादी कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ता चढेको एउटा बोलेरो जिपमा तोडफोड गरेको प्रारम्भिक जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाईफायर गरेको छ । हवाई फायरपछि दुबै पक्ष तितरवितर भएका थिए । जिल्ला सदरमुकामबाट डिएसपी विरेन्द्र थापाको नेतृत्वमा थप प्रहरी घटनास्थल पठाइएको शर्माले बताए ।