Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

सडक विस्तारका लागि पहाड काट्दै

Wednesday, April 19, 2017 National Power

६ बैशाख, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि बुधदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको जनाएको हो। सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ। सडकबाट करिब १५ मिटरको उचाइमा रहेको ढिस्कोमाथि काम गर्दा हल्लिन थालेपछि सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ढिस्को हटाउन लागिएको हो। उनका अनुसार बुधबार बिहान १० बजेदेखि चर्केको चट्टान पहाडबाट हटाउने काम सुरु गरिएको छ। चट्टान सकेसम्म आजै नभए भोलिसम्ममा हटाइसक्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्न सक्ने जोखिम देखेपछि हिजोदेखि नै सो ठाउँमा प्रहरी राखेर हेरेर पालैपालो सवारी चलाएको बताए। सो ठाउँमा प्रहरीको रेस्क्यु टिम पनि तैनाथ गरिएको छ। ढिस्को झारेर सफा नगरेसम्म सडकमा आवागमन सम्भव नभएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको थापाले बताए। सो ठाउँमा ४४ मिटर माथिबाट चट्टान काट्ने काम भइरहेको छ। त्यहाँ रहेको पहाडलाई हटाएर १५ मिटर फराकिलो बनाइँदै छ। सो ठाउँ नारायणगढबाट २२ किलोमिटरको दूरीमा पर्दछ। अहिले सो क्षेत्रमा दुईवटा ब्रेकर र एउटा एक्साभेटर प्रयोग गरेर काम गरिँदै छ। सोही ठाउँमा चैत २१ गते पहिरो खसेर चार सवारीसाधन पुरिँदा मोटरसाइकलमा सवार एक र ट्याङ्करमा सवार अर्का एक जनाको मृत्यु भएको थियो।