Sunday 7th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

“दशैँ अघि मेलम्चीकाे पानी वितरण गर” – सार्वजनिक लेखा समिति

Wednesday, April 5, 2017 National Power

२३ चैत, काठमाडौं – संसद्को सार्वजनिक लेखा समितिले मेलम्चीको पानी आगामी दसैंभित्रै काठमाडौंबासीलाई वितरण गर्ने गरी काम गर्न निर्देशन दिएको छ।

समिति सभापति डोरप्रसाद उपाध्यायले खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिइएको मंगलबार जानकारी दिए। समितिले बैठकले आयोजना तोकिएकै समयमा वातावरणमैत्री ढंगबाट सम्पन्न गरी काठमाडौंबासीलाई पानी वितरण गर्न निर्देशन दिएको छ।

आयोजनाको वित्तीय प्रगतिविवरण र आयोजना लागत बढ्नुको कारणसहितको विवरण पेस गर्न पनि समितिले निर्देशन दिएको छ।
समिति बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची तोकिएकै समयमा आउनेमा ढुक्क भएर बस्न आग्रह गरे। उनका अनुसार मेलम्ची काठमाडौैंछेउमै आइपुगिसकेको छ।

अब भित्र प्रवेशको औपचारिकता पूरा गर्न मात्रै बाँकी छ। पानी आउनुअगाडि नै आगामी असारमा बागमतीको पानी राखेर उपत्यकाको धारा तथा पानीको पाइपको प्रेसर मापनको परीक्षण हुने भएको छ।

सचिव उपाध्यायका अनुसार सुन्दरीजलमा बनाइएको पानी ट्यांकीमा बागमतीको पानी राखेर परीक्षण गरिनेछ। असारमा बागमतीको पानीको प्रवाह बढ्ने भएकाले पनि यो पानीमार्फत परीक्षण हुने भएको हो।

सुन्दरीजलमा बनाइएको ट्यांकीको क्षमता साढे आठ करोड लिटरको भएकाले दुईपटक काठमाडौंका सबै पानीको धारा तथा पाइपमा पानीको प्रेसर मापन हुने उल्लेख छ। यो आयोजनाका लागि हालसम्म २१ अर्ब रुपैयाँ खर्च भइसकेको छ।आयोजना पूरा गर्न अझै साढे तीन अर्ब रुपैयाँ खर्च हुने सचिव उपाध्यायले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।