Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

वीरगन्ज भन्सारबाट दुर्लभ चितुवाको छाला र हड्डी बरामद

Tuesday, April 4, 2017 National Power

२२ चैत,  पर्सा  – वीरगन्ज भन्सारको परिसरबाट प्रहरीले चितुवाको छाला र हड्डी ठूलो परिमाणमा बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दिएको सूचनाका आधारमा पर्सा प्रहरीले वीरगन्ज भन्सार परिसरको खुला स्थानबाट बेवारिसे अवस्थामा दुई थान चितुवाको छाला र ३४ किलो हड्डी बरामद गरेको हो ।

भन्सार परिसरको यार्डमा दुइवटा थोत्रो टिनको बाकसभित्र राखिएको १६ वटा पोकामा रहेको हड्डी र छाला आज बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयो । बरामद चितुवाको छाला र हड्डी आवश्यक कार्बाहीका लागि आजै जिल्ला वन कार्यालय पर्सामा बुझाइएको उपरीक्षक साहले बताउनुभयो ।

वन्यजन्तुको चोरी सिकारी गर्नेले मकवानपुरको जङ्गलमा चितुवा मारेर त्यसको छाला र हड्डी भारत हुँदै तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा भन्सार परिसरमा राखेको हुनसक्ने आशङ्का रहेको पर्सा प्रहरीले जनाएको छ ।

काठमाडौँमा सिआइबीको टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरुले दिएको बयानका आधारमा वीरगन्ज भन्सार परिसरमा चितुवाको हड्डी र छाला रहेको सूचना पाएपछि सोही सूचनाका आधारमा छाला र हड्डी बरामद गरेको प्रहरीले जनाएको छ ।