Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

Tuesday, April 4, 2017 National Power

२२ चैत, काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिनुहुने भएको छ ।

समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउनुहुने समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताउनुभयो ।

रासससँग कुरा गर्दै सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार आज बैठकको मिति तय गरिएको हो । ‘‘प्रधानमन्त्रीज्यूले बैठकमा नै सबै विषयमा प्रष्ट धारणा राख्छु भन्नुभएको छ । समितिले पनि आवश्यक तयारी गर्छ”–सभापति उपाध्यायले भन्नुभयो ।

एनसेलको पूँजीगत लाभकरका विषयमा परस्पर विरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पूँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।

कम्पनीका नेपाली साझेदारले रु १० अर्ब पूँजीगत लाभकर तिरेपनि टेलियाले भने रु ४३ अर्ब पूँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ ।

उता अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चुडामणि शर्मालाई सो निर्देशन दिनुभएको हो ।