१४ चैत, भक्तपुर – सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको बिकास हुन नसकेको शिक्षासँग सरोकार राख्ने अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले आरोप लगाएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको भन्दै सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको अनुगमन गर्न नसक्दा सामुदायिक विद्यालयको अवस्था दिन प्रतिदिन खस्कँदै जानु र हचुवाका भरमा पटक पटक शिक्षा नियमावली परिवर्तन गरिनु , काम पुरानै शैलीमा हुने गरेकाले शैक्षिक क्षेत्रको विकास हुन नसकेको आरोप लगाएका हुन् ।
अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण निजी नाम चलेका विद्यालयले आर्थिक ब्रम्हलुट गर्दै अभिभावकमाथि धान्नै नसक्ने आर्थिक भार थुपारेको बताए। निजी विद्यालयको शैक्षिक प्रणाली एकै हुनुपर्ने भन्दै समय अनुकुल विद्यार्थी शुल्कलाई परिमार्जन गरिनुपर्ने विषय उठान गर्दा अभिभावकलाई प्याब्सन र एन प्याब्सनले दुश्मनको ब्यवहार गर्ने गरेको गुनासो गरे।
प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फेले नेपालको भूगोल अनुरुपको शिक्षा प्रणाली लागू गर्न नसक्दा समस्या देखिएकाले सोच अनुरुप प्रतिफल प्राप्त हुन नसकेको बताए। उनले राज्यका महत्वपूर्ण पदमा बसेका ब्यक्तिहरुले नेपालको शैक्षिक क्षेत्रका बारे जानकारी नहुँदा बिभिन्न समयमा नेपाल सरकारले निजी विद्यालयमा पटक पटक अंकुश लगाउने काम गलत भएको बताए।