Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मधेशमा आन्दोलन, एमालेलाई सकस

Wednesday, March 8, 2017 National Power

५ फागुन, सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान जारी भएपछि पहिलोपटक फागुन २३ गते सोमवार २ नम्बर प्रदेशमा गएका थिए । एमालेका शीर्ष नेताहरुमध्ये माधवकुमार नेपाल र ईश्वर पोखरेल विभिन्न कार्यक्रम लिएर यसअघि २ नम्बर प्रदेशमा गए पनि ओलीले कतिपय निर्धारित कार्यक्रम अन्तिम समयमा आएर रद्द गरेका थिए ।


यसपटक ओली आफूमात्र होइन, सिंगो एमालेको नेतृत्व साथमा लिएर राजविराज, गोलबजार, जनकपुर, जितपुरजस्ता मधेस आन्दोलन प्रभावित शहरहरुमा जाँदै थिए । उनले आफू २ नम्बर प्रदेश प्रवेश गर्नुअघि रणनीतिक रुपमा २० जना मधेसी नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक रुपमा प्रवेश गराएका थिए । जसमा अधिकांश २ नम्बर प्रदेशकै स्थापित मधेसी नेतादेखि उदाउँदै गरेका युवाहरुसम्म छन् ।

एक नम्बर प्रदेशमा उत्साहपूर्ण जनसहभागितापछि हौसिएका ओली करीव ५ हजारको लावा लस्कर लिएर कोशी ब्यारेज पार गर्दा भारदहमा एक सय जनाको संख्यामा मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउदै उनकै विरुद्ध चर्का नारा लगाएका थिए । ५० मिटर दूरीबाट लगाइएका ‘मधेस विरोधी ओली मूर्दावाद’ ‘ओली चोर मधेस छोड’ जस्ता नारा उनले नसुन्ने कुरै भएन ।

भारदहबाट हनुमाननगर हुँदै राजविराज प्रवेश गर्ने मार्ग ओलीले मधेसी मोर्चाकै बिरोधका कारण परिवर्तन गरेर कन्चनपुर,महुली,रुपनगर हुँदै राजविराज जाने नयाँ रुट तय गरेका थिए । राजविराज बजारमै प्रवेश गर्दा हुने तनाव टार्न बजारभन्दा यतै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेको सभा तय गर्नु भनेको ओलीले भिडन्त नचाहेको भन्ने बुझिन्छ ।

राजमार्गभित्र नपसेको भए यो मानवीय क्षति हुने अवस्था आउने थिएन कि ? कतिपयले यो प्रश्न गरेका छन् । तर एमाले र विशेष गरी ओलीका लागि राजविराज, जनकपुर जस्ता शहरमा आफ्नो उपस्थिति देखाउनु राजनीतिक रुपमा विजयको सन्देश पनि थियो । यहि राजनीतिक बिजय खोज्दा २ नम्बर प्रदेश प्रवेश गरेकै दिन अप्रिय घटना भयो ।

पछिल्लो मधेस आन्दोलनका बेला ओलीलाई मधेसमा ‘खलनायक’का रुपमा प्रस्तुत गर्न आन्दोलनकारीले कुनै कसर बाँकी राखेका छैनन्। ओली विरुद्ध प्यारोडी बनाउनेदेखि उनका भाषणलाई मधेस विरोधी अभिव्यक्तिका रुपमा गाउँ गाउँमा प्रचार गरिएका थिए ।

यसबीचमा ओली २ नम्बर प्रदेशमा नजानुलाई मधेसी मोर्चाले आफ्नो बिरोधका कारण ओली मधेस प्रवेश गर्न नसकेको अर्थमा प्रचार गरिरहेको थियो । अर्कोतिर माधव नेपाल गौर र सुनसरीको हरिपुराका सभामा गएबाहेक मधेसका मुख्य शहरमा शीर्ष नेताहरु नआउँदा एमाले कार्यकर्तामा निराशा मात्र होइन रक्षात्मक अवस्थामा थिए ।

ईश्वर पोखरेल र बामदेव गौतम सप्तरी, सिराहा र धनुषाका चियापन कार्यक्रममा जाँदा समेत मोर्चा कार्यकर्ताको अवरोध सामना गर्नु परेको थियो । स्थानीय चुनाव घोषणा भइसकेको र एमालेलाई मधेस विरोधी भनेर एकोहोरो ढंगले स्थापित गर्न खोजिएको अवस्थामा मेची महाकाली अभियानको मूल लक्ष्य भनेको मधेसमा एमालेको धारणा राख्नु नै थियो ।

एमालेको अभियान शुरु हुनै लाग्दा मधेसी मोर्चाले सप्तरी र जनकपुरमा बन्द आह्वान गरेर एमालेलाई मधेस पस्न नदिने घोषणा गर्‍यो । मोर्चाका नेताहरुले एमालेलाई भन्दा पनि ओलीलाई मधेसमा पस्न नदिने बताए । सोमवार पनि राजविराजमा जब ओलीले बोल्न थाले त्यसपछि मोर्चाका प्रदर्शनकारीहरु ढुंगामुढामा उत्रिए ।