२३ फागुन, काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत परिणामलाई लिएर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुकै दुई समूहबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ भने केहीलाई पक्राउ गरेको छ ।
आइतबार क्याम्पस प्रशासनले १८ गते भएको स्ववियु निर्वाचनबाट विजयीहरुलाई बधाई दिन बोलाएको थियो , एक्कासी अनेरास्ववियुका दुई पक्षबीच झडप भयो ।
निर्वाचनमा आफ्नो समूहका उम्मेदवार पराजित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका विद्यार्थीले आफूहरुमाथि आक्रमण गरेको नेपाल खेमाका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।
अनेरास्ववियुको गटगत बिभाजनको कारण स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रोशन थापामगर विजयी भएका थिए । दुई खेमाबीच आइतबार क्याम्पस हाताभित्रै हानाहान भयो । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरी केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो भने प्रहरीको लाठी चार्जबाट नेपाल खेमाका विद्यार्थी सुमन केसी घाइते भएका छन् ।