Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मन्त्री फिर्ता बाेलाउने राप्रपाकाे चेतावनी

Monday, February 6, 2017 National Power

माघ २४, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो पोखे । भने,‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्, त्यसैले सरकारमा रहीरहने कुरा अब स्वीकार गर्न सकिँदैन्, यसबारेमा पार्टीभित्र पनि गम्भिर कुरा उठेको छ ।’
साक्षात्कारमा डा. लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए । उनले थपे,‘यो सरकारको तौर÷तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो ।’
उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने नभएको आरोप लगाए । डा. लोहनीले थपे,‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छ्याउने काम हो ।’
संविधान संशोधनले मुलुकको हित नगर्ने डा लोहनीको भनाई छ । ‘संशोधनमा उल्लेख गरिएका कतिपय विषयले देशको हित गर्दैन् ।’ उनले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी पनि गरे ।
भने,‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माग भनेको नै चुनाव हो ।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने जिकिर समेत गरे ।
डा. लोहनीले पछिल्लो समय सरकारी अक्षमता बढिरहेको समेत गुनासो गरे । भने,‘जनताले कर तिरेको पैसाबाट दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा व्याज बढिरहेको छ ।’ फरक प्रसंगमा डा. लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेद्धवारी दिने समेत बताए । उनले भने,‘यो पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा स्थापित गर्न नेतृत्व गरौं भन्ने मेरो चाहना छ, तर म यसबारेमा दुई-तीन दिनभित्रै निर्णय गर्छु ।’