काठमाडौं- काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका–१२ द्धारा आयोजित ४५ दिने निःशुल्क हेयर कटिङ तालिम समापन भएको छ । गत वैशाख २७ गतेबाट प्रारम्भ गरिएको तालिम २५ जना युवायुवतीहरूलाई प्रदान गरिएको थियो ।
बि.स्टारको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका-१२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई, विशिष्ट अतिथिहरूमा वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई, वडा नं ११ त्यस्तै कार्यक्रममा अतिथिको रुपमा हास्य टेलिसिरियल सक्किगोनीका कलाकार हरि निरौला ‘कक्रोज’, कपन डोल सुधार समितिका अध्यक्ष नारायणप्रसाद ढुङ्गेल , बुढानिलकण्ठ नगरपालिका-१२ का वडा सदस्य मिना बयालकोटी, ईश्वरी भट्टराई लगायतका अतिथिहरूको सहभागीतामा आयोजित कार्यक्रमको सभापतित्व बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनका प्रमुख तथा मेकअप आर्टिष्ट बिक्रम गौतमले गर्नुभएको थियो ।
तालिममा सहभागी विद्यार्थी पुष्पा थापाले स्वागत मन्तव्यसँगै आफ्नो अनुभव साट्दै प्रारम्भ भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कलाकार हरि निरौलले कपाल काट्ने पेशा आफैँमा एक जटिल पेशा रहेको तर देशमा कपाल काट्नको निम्ति अझैपनी दक्ष जनशक्तिको अभाव खड्किरहेको बेला आयोजना गरिएको हेयर कटिङ तालीमले आगामी दिनमा दक्ष जनशक्ति स्वदेशमा नै उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।
तालिममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरणसहित सम्पन्न भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका–१० मा समेत केही समय अगाडि हेयर कटिङ तालिम आयोजना गरिएको मध्य धेरै विद्यार्थीहरूले अहिले सोही पेशामा आबद्ध रहेको र वडा नं १२ ले गरेको तालीममा सहभागी विद्यार्थीले पनि कपाल काट्ने पेशालाई नै निरन्तर दिनुपर्नेमा नवराज भट्टराईले जोड दिनुभयो ।
यसैगरी आयोजक बुढानिलकण्ठ नगरपालिका–१२ को प्रतिनिधित्व गर्दै अध्यक्ष शम्भु भट्टराईले यो तालिम आयोजना गर्न पाउँदा सिङ्गो वडा खुशी रहेको र तालिममा सहभागी सम्पूर्ण विद्यार्थीले तालिमबाट सिकेको सिपलाई उचित तरिकाले सदुपयोग गरेको सुन्दै थप खुसी साट्न आफू आत्तुर रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा समेत वडाले गर्नपर्ने साथ,सहयोग र सद्भाव निरन्तर रहिरहने बिश्वास दिलाउनुभयो ।
राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सबैलाई दही च्यूउरा खुवाएर कार्यक्रमको समापन गर्ने क्रममा बि.स्टारका प्रमुख तथा मेकअप आर्टिस्ट बिक्रमले आयोजित तालिम गर्ने शौभाग्य प्राप्त गर्ने अवसर प्रदान गरेकोमा बुढानिलकण्ठ नगरपालिका-१२ परिवारलाई धन्यवादसहित तालिममा सहभागी सबैलाई तालीम अवधीभर सिकेको सिपलाई आगामी दिनमा सही तरिकाले ग्रहण गर्दै प्रगतिका निम्ति सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
साथै उहाँले स्वदेशमा नै रोजगारको अवसर कयौं रहेको तर वर्तमान समयमा सही तरिकाले अवसरलाई ग्रहण गर्न नसक्ने अवस्थाको केही मात्रामा भएपनि अन्त्य गर्न आफू निरन्तर लागिपरेको जिकिर गर्नुभयो ।