Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

अघिल्लो पुस्ता र पछिल्लो पुस्तालाई जोड्ने दस्तावेज ‘सगरमाथाको शेर्पा म’

Monday, December 25, 2023 Devil Singh Rajput

काठमाण्डौ । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले पर्यटन प्रबद्र्धक मिङ्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ को लोकार्पण गरेका छन् । धुम्बराहीस्थित अकमा होटलमा आयोजित कार्यक्रम माझ पूर्व उपराष्ट्रपति पुनले ‘सगरमाथाको शेर्पा म’ पुस्तकको  लोकार्पण गरेका हुन् । प्रमुख अतिथि पुनसँगै लेखक शेर्पाको साथमा प्रकाशक संस्था जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसी, नियात्राकार प्रतीक ढकाल, साहित्यका डा.रेणुका सोलु, छायाँ लेखक सिर्जना शर्मा र पर्यटन व्यवसायी निमा तेन्जिङ शेर्पाले उक्त पुस्तकलाई संयुक्त रुपमा सार्वजनिक गरे ।
लास्ट फ्रन्टिएर ट्रेकिङको आयोजनामा भएको उक्त ‘सगरमाथाको शेर्पा म’ लोकार्पण कार्यक्रममा उपस्थित अतिथिहरुलाई निमा तेन्जिङ शेर्पाले स्वागत मन्तव्य दिँदै आफ्नो पापा मिङ्मा शेर्पा एउटा उदाहरणका रुपमा आफूले पाएको बताएका थिए । पारिवारिक रुपमा पुस्ता हस्तान्तरणसँगै आफ्नो पूर्खाको इतिहासलाई उजागर गर्न, मानवसेवा र सामाजिक कार्यमा निरन्तर लाग्न प्रेरित गर्ने कार्यमा पापा एक उदाहरणको रुपमा लिएको बताए ।
कार्यक्रममा लेखक मिङ्मा शेर्पालाई बौद्धिक युवाहरुको समूहको तर्फबाट सम्मान गरिएको थियो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, गीतकार तथा संचारकर्मी नरेश भट्टराई, गीतकार सत्यकला लामाले संयुक्त रुपमा लेखक मिङ्मा शेर्पालाई सम्मान गरेका थिए । शेर्पालाई पर्यटन क्षेत्रको प्रबद्र्धन, मानव सेवा, सामाजिक कार्य हुँदै देशको नामलाई विश्वसामु उच्च राख्न गर्नुभएको योगदान स्वरुप सम्मान अर्पण गरिएको थियो ।

पुस्तक ‘सगरमाथाको शेर्पा म’ लोकार्पण पछि शुभकामना मन्तव्य दिँदै छायाँ लेखक सिर्जना शर्माले लेखक मिङ्मा शेर्पा समाजको एक अथक योद्धाका रुपमा पाएको बताएकी थिइन् । उहाँको लेखन, अडियो रेकर्डलाई आफूले पुस्तकमा भाषागत रुपमा प्रस्तुत गर्न पाउँदा शेर्पाको जीवन भोगाईले आफ्नो जीवनमा समेत उर्जा थपेको बताएकी थिइन् ।

गीतकार देवेन्द्र केसीले लेखक मिङ्मा शेर्पालाई पुस्तक ‘सगरमाथाको शेर्पा म’ जीवन भोगाइको दस्तावेज भए पनि समाज रुपान्तरणको स्तम्भका रुपमा पनि लिएको बताए । शेर्पा विदेशीको भरिया मात्र नभएर नेपालको चिनारी भएको बताउँदै मिङ्मा शेर्पाको सुरुका दिनदेखि आजसम्मको भोगाइमा धैर्यता, लगनशीलता, इमान्दारितासँगै पर्यटन क्षेत्रको विकासमा निरन्तर दिएको योगदानको उदाहरणीय दस्तावेज भएको बताए । त्यस्तै नेपालमा पर्यटन क्षेत्रबाट गरेको योगदानलाई सम्मान गर्दै बीरल्याण्ड जस्तो अफ्रिकी मुलुकले पर्यटनमन्त्रीका रुपमा नियुक्त गर्नु नेपालको गर्व भएको बताए ।
त्यसैगरी नियात्राका प्रतीक ढकालले लेखक शेर्पालाई शुभकामना मन्तव्य दिँदै शेर्पा भनेको देश चिनाउने समुदाय भएको बताएका थिए । उनले देशका हरेक जनताले पहिला देश चिनाउने कार्य गर्न शेर्पासँग सिक्नुपर्ने बताए । शेर्पा, गोर्खा, सगरमाथा, बुद्ध भनेको विश्वसामु नेपाली हो भनेर चिनाउने नाम भएको बताउँदै ढकालले ‘सगरमाथाको शेर्पा म’ भन्ने पुस्तकभित्र एउटा परिवारको मात्र कथा नभएर सम्पूर्ण शेर्पाको प्रतिनिधित्व गर्ने दस्तावेज निर्माण भएको बताए ।

त्यसैगरी साहित्यका डा.रेणुका सोलुले लेखक मिङ्मा शेर्पा एउटा खुला विश्वविद्यालय भएको बताउँदै परिश्रम गर्न कोहि पनि नहिचकिचाउने हो भने विदेशमा भौंतारिनु पर्दैन भन्ने एउटा उदाहरणका रुपमा पाएको पनि बताइन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्तिका रुपमा लेखक शेर्पा रहेको बताउँदै आफ्नो पूर्खा र भोलिका सन्ततिको लागि संस्कारको कथा बोकेको पुस्तकका रुपमा ‘सगरमाथाको शेर्पा म’ पाएको पनि बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण पुस्तक ‘सगरमाथाको शेर्पा म’ एउटा प्रेरणाको स्रोत बन्ने विश्वास लिएको बताए । पहिलो भेटमा नै लेखक मिङ्मा शेर्पाको कुराले आफूलाई आकर्षित गरेको बताउँदै पूर्वउपराष्ट्रपति पुनले एउटा कर्मठ नेपाली छोरो, मेहनत गरे के हुँदैन ? भन्ने ज्वलन्त उदाहरण भएको बताए । उहाँको पापादेखि नाति पुस्तासम्मको संस्कार, दुःखसुखलाई जोड्ने इतिहास रहेको बताउँदै ‘सगरमाथाको शेर्पा म’ पुस्तकबाट धेरैले ज्ञान लिन सक्ने बताए ।

लेखक मिङ्मा शेर्पाले आफू जन्मेको सोलुदेखि जापान, काठमाडौंसम्मको यात्रामा भोगेका दुःखका पानाहरु पल्टाउँदा एउटा दस्तावेज निर्माण भएको बताए । खाली खुट्टा सोलुको हिउँमा खेलेका यादहरुदेखि हिमाल चढ्दा होस् या पापाको पदचाप पछ्याउँदै हिंडेका दिनहरु हुन् सबै स्मरणीय बनेको बताए । उनले यो पुस्तक निर्माण हुनुमा पहिलो श्रेय आफ्नी स्वर्गीय श्रीमतीको रहेको बताउँदै यहीँ कतै टेबलमा बसेर पेम्बा याङ्गजीले सुनिरहेकी छन् भन्दै भावुक बनाए । मेरा बाबाले गरेको दुःखको कथा, मैले भोगेको जिन्दगी, मेरा छोराहरुले भोगेको वर्तमान र नाति नातिनीहरुको भविष्यलाई जोड्ने र आफ्नो पूर्खाको इतिहासलाई सम्झाउने प्रयास गरेको बताए । ‘सगरमाथाको शेर्पा म’ पुस्तक निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे । उनले पुस्तक लेख्नलाई हौस्याउने जेनकवि कृष्ण प्रसाई, गीतकार देवेन्द्र केसी र उर्जा दिइरहने जीवन संगीनी र परिवारप्रति नतमस्तक रहेको बताए ।

त्यसैगरी जरा फाउन्डेसनका अध्यक्ष एवं कार्यक्रमका सभापति जेनकवि कृष्ण प्रसाईंले कार्यक्रम समापन गर्दै मिङ्मा शेर्पा पर्यटन क्षेत्रको एउटा अथक योद्धा भएकै कारण दुखद् भोगाईको सफल व्यक्तित्व भएको बताए । सरल स्वभाव, असल व्यक्तित्व, मानवसेवी, सामाजिक विकासको खम्बा र सम्पूर्ण नेपालीको लागि प्रेरणाको स्रोत भएको बताए । कार्यक्रमलाई नरेश भट्टराईले संचालन गरेका थिए भने सुमन बैरागीले कार्यक्रममा मिडिया संयोजनको भूमिका निर्वाह गरेका थिए । रात्रीभोजसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, पत्रकार एवं लेखकका आफन्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।